कोरोना विशेष

सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रधानमन्त्री देउवाले गरे बाचा (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको पहिलो प्राथमिकता सबैलाई खोप उपलब्ध गराउने भएको बताएका छन् । विकासको कामलाई भन्दा पनि संकटको बेला जनताको जीवन रक्षा गर्ने पहिले उदेश्य रहेको देउवाले बताएका हुन् । के साचै नै देउवा सबैलाई खोप उपलब्ध गराउन र कोरोना नियन्त्रणमा सफल होलान त ? कोरोना भाइरसका कारण मुलुक अहिले जटिल अवस्थामा छ । कोरोनाका नयाँ नयाँ भेरियन्टका कारण जनमासमा झनै त्रास बढिरहेको छ । यसबाट बाच्ने एकमात्र उपाय भनेको नै खोप नै रहेको विज्ञहरुले बताइरहेका छन् ।

अहिले पनि नेपालमा दैनिक २ हजार बढि संक्रमण पुष्टि भइरहेको छ भने मृत्यु हुनेको संख्या पनि दैनिक २० जना भन्दा बढि रहेको छ । अर्थात् कोरोनाको जोखिम अझै घटिसकेको छैन् । यसलाई नै मध्यनजर गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले कोभिड १९को प्रकोपबाट जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिक रहेको बताएका छन् । प्रधानमन्त्री देउवासंग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन वार्ता नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा पनि कोभिड खोप लगाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताएका थिए । यता निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको बताएका थिए । तर, पनि प्रधानमन्त्री देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने बाचा गरे ।

यसअघि केपी ओलीले पटक पटक समय तोकेर खोपको आश्वासन दिने गरेपनि पूरा नगरेका कारण देउवाले गरेका प्रतिवद्धता पनि पूरा हुनेमा नागरिक विश्वस्त हुन सकेका छैनन् । यता विज्ञले पनि खोप लगाएका मानिसहरुमा कोरोना संक्रमण भएपनि ती मानिसहरु गम्भीर अवस्थामा नपुगेका आधारमा नयाँ भेरियन्टलाई पनि खोप प्रभावकारी रहेका भन्दै सवै नागरिकलाई खोपको सुनिश्चितता गर्न आग्रह गर्ने गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार खोप केन्द्रमा पुगेर अनुगमन समेत गरेका छन् । देउवाले सहज रूपमा खोप लगाउने प्रबन्ध मिलाउन निर्देशन समेत दिए । देउवा प्रधानमन्त्री भएपछि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पनि असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र चैत मशान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको छ । के साचै प्रधानमन्त्री देउवाले सबै नागरिकलाई खोपको व्यवस्था गरेर जनताको मन मुटु जीत्न सक्लान त ? त्यो हेर्नै बाकी छ ?