राजनीति

प्रचण्डमाथि ‘सुरक्षा थ्रेट’ बढेको भन्दै डीएसपीको कमाण्डमा खटाइयो थप प्रहरी


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सुरक्षा थ्रेट बढेको भन्दै सरकारले डीएसपीको कमाण्डमा थप प्रहरी टोली खटाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रचण्डमाथि ‘सुरक्षा थ्रेट’ बढेको भन्दै शनिबारदेखि नै प्रचण्डको सुरक्षामा थप प्रहरी खटाएको हो ।

प्रचण्डका एकजना सहयोगीका अनुसार सरकारको निर्णयबाट शनिबारदेखि डीएसपीको कमाण्डमा थप प्रहरी खुमलटार आइसकेका छन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५३ जनालाई फिर्ता गरेको थियो।

तर माओवादीको समेत समर्थनमा प्रधानमन्त्री बनेका देउवाले प्रचण्डमाथि सुरक्षा थ्रेट बढेको निचोडसहित थप प्रहरी पठाएका हुन् । ‘अगुवा गाडीका लागि डीएसपीसहितका प्रहरी गएका हुन्’, स्रोतले भन्यो, ‘ओली सरकारले अगुवा हटाएर पछुवा मात्रै राखिदिएको थियो । तर अब प्रचण्डलाई अगाडि पछाडि दुवैतिरबाट सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिनेछन् ।’

ओली सरकारले फिर्ता लैजानुअघि प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका डीएसपीको कमाण्डमा २६ जना र सशस्त्र प्रहरीका इन्स्पेक्टरको कमाण्डमा ४७ जना परिचालित थिए ।