राजनीति

गृहजिल्लाका केन्द्रीय सदस्यलाई पौडेलको आग्रह : तपाईंहरुले पनि मलाई सहयोग गर्नुपर्‍यो


काठमाडौँ – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सहयोग गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँका नेताहरुलाई आग्रह गरेका छन् । तनहुँ जिल्लाबाट केन्द्रीय सदस्य रहेका नेताहरुसँग छलफल गर्दै वरिष्ठ नेता पौडेलले आसन्न महाधिवेशनमा सहयोगका लागि आग्रह गरेका हुन् ।

आइतबार काठमाडौँमा चार जना केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई र ध्रुव वाग्लेसँगको छलफलमा नेता पौडेलले आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सहयोगका लागि आग्रह गरे । संस्थापनइतर समूहमा आधा दर्जन बढी नेतृत्वका आकांक्षी रहेका बेला पौडेलले गृहजिल्लाका नेताहरुको साथ खोजेका छन् । ‘अब म अगाडि बढिसकें । अघिल्लो पटक प्राविधिक रुपमा सभापतिमा हारेको हुँ । अहिले मेरो पक्षमा माहोल छ,’ पौडेलले भने, ‘तपाईंहरुले पनि मलाई सहयोग गर्नुपर्‍यो ।’

तनहुँका चारैजना केन्द्रीय सदस्य पौडेल समूहमा छैनन् । केन्द्रीय सदस्य भट्टराई, भण्डारी र वाग्ले संस्थापन समूहका नेता हुन् भने अर्का केन्द्रीय सदस्य पौडेल तेस्रो समूहसँग नजिक छन् । त्यस्तै वाग्ले आमन्त्रित केन्द्रीय सदस्य हुन् ।

छलफलपछि केन्द्रीय सदस्यहरुले नेता पौडेललाई आफ्नो समूहबाट साझा उम्मेदवार बन्न सुझाव दिए । ‘तपाईं पहिला आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार बन्नुस् । त्यसपछि बल्ल सहयोगबारे कुरा हुन्छ,’ अर्का एक केन्द्रीय सदस्यले भने, ‘तपाईं स्वभाविक उम्मेदवार हो भनेर हामीले भन्यौं।’ त्यस्तै संस्थापननिकट एक केन्द्रीय सदस्यले पौडेललाई सभापति शेरबहादुर देउवासँग सहकार्य गर्न सुझाव दिएका छन् । तर पौडेलले भने आफू सभापतिमै उम्मेदवारी दिने भन्दै अन्य लाभका पदमा चासो नरहेको प्रतिक्रिया दिएका थिए ।

नेता पौडेल १३ औं महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । उनले आसन्न महाधिवेशनमा पनि नेतृत्वमा प्रतिस्पर्धा गर्ने चाहना राखेको भए पनि उनकै समूहभित्र विरोध हुँदै आएको छ ।