कोरोना विशेष

नेपालमा फेरी बढ्दै कोरोना : तेस्रो लहरको खतरा, छैन तयारी (भिडियोसहित)


काठमाडौँ – कोरोना सक्रमण र मृत्युदर पुनः बढ्ने संकेत देखिएको छ । नेपालमा गत वैशाख २८ मा उत्कर्षमा पुगेको संक्रमणको दर क्रमशः घट्दो अवस्थामा थियो । पछिल्ला केही दिन यता संक्रमण बढ्न थालेपछि जनस्वास्थ्यमा फेरि चुनौती थपिन सक्ने विज्ञहरुले अनुमान गरेका छन् ।

असार २६ मा नेपालमा १३ सय ५३ कोरोना संक्रमित भेटिएका थिए भने त्यो दिन २२ जनाले ज्यान गुमाएका थिए । गएको साता न्युनतम १२ सय ३७ संक्रमण र एक दिन१२ को मृत्यु भएको तथ्यांक छ । दैनिक १२–१३ सयमा झरिसकेको संक्रमण दर अहिले बढ्दै २ हजारको आसपास पुगेको छ । मृत्यु हुनेहरुको संख्या पनि शुक्रबार ४३ पुगेको छ । यो तथ्यले स्पष्ट संकेत गर्छ कि नेपालमा संक्रमण बढ्दो क्रममा छ । संक्रमण कम हुँदै गएको निष्कर्षसहित सरकारले निषेधआज्ञा खुकुलो गर्दै गएको छ । मानिसहरुको धेरै भिडभाड हुने स्थलबाहेकमा निषेधआज्ञा हटाइएको छ ।

यो खुकुलोपनलाई मानिसहरुले कोरोना महामारीको अन्त्य भएको अर्थमा बुझ्दै गएका कारण जनस्वास्थ्यमा पुनः खतरनाक चुनौती थपिन सक्ने विज्ञहरुले औल्याएका छन् । निषेधाज्ञा खुकुलो भएपछि एक साता यताको तथ्यांकअनुसार नेपालमा संक्रमण दर १९ दशमलव दुई प्रतिशत रहेको देखाउँछ । संक्रमण दर २० प्रतिशत हुनुलाई महामारीको भयावह अवस्था हो भन्ने गरिन्छ । असार २३ गते देखि साउन १सम्म २४ हजार ४ सय ७८ जना संक्रमित भेटिएका छन् । मृतक संख्या अझै पनि दुःखलाग्दो नै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधआज्ञा खुकुलो भए पनि संक्रमणको सम्भावना उच्च नै रहेकोले सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

कोरोना संक्रमणविरुद्धका खोप नेपालमा सर्वसुलभ हुन सकेको छैन । खोप लगाए पनि संक्रमण नहुने र मानिसहरुको मृत्यु नहुने निश्चित हुँदैन । जोखिम कम गर्ने यो विकल्पमा सरकारले पनि जोड दिइरहेको छ । कोरोना संक्रमणपछि हुने कोभिड १९ रोगको अहिलेसम्म प्रभावकारी औषधि वा उपचार विधि विकास भइसकेको छैन ।

यस्तो अवस्थामा पर्याप्त सावधानी अपनाउनु नै बुद्धिमानी हुने विज्ञहरु बताउँछन् । अमेरिका र भारतमा कोरोना महामारीको तेस्रो लहर आउने चेतावनी दिइएको छ । भारतमा तेस्रो लहर आउँदा नेपालमा पनि त्यसको प्रभाव पर्ने निश्चित छ । खोप अभियान पूरा गर्ने र तेस्रो लहरको तयारीमा जुट्नुको विकल्प नभएको पनि केही विज्ञहरुले बताएका छन् ।