राजनीति

ओलीको बहिर्गमनसँगै विप्लवको सक्रियता बाढ्यो, एकता सम्भव होला ? (भिडियोसहित)


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ता बहिर्गमन र कांग्रेस सभापति शेरबहादुर देउवाको सत्तारोहणसंगै नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट घटकहरुसंगको भेटघाटलाई तीव्र पारेका छन् । जसलाई विप्लवले दिन खोजेको अर्थपूर्ण संकेतका रुपमा बुझिएको छ ।

केपी शर्मा ओलीको कार्यकालमा झिनो मात्रामा केही सम्झनलायक काम भए । जसमध्येकोएक हिसांत्मक गतिविधिको बाटो अंगालेर बम बारुद पड्काउदै हिडेको नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा पदार्पण गर्नु थियो । विप्लवलाई ओलीले मुलधारको राजनीतिमा फर्काएसंगै सबैको विश्वास थियो, अब उनीहरुबीच पार्टी एकतादेखि सरकारसम्मको साझेदारी चल्छ । तर विप्लवले भूमिगत शैली त्यागेर खुल्ला राजनीतिमा आएपछि ओलीसंगको सहकार्यलाई खासै सहज लिएनन् ।

बरु ओलीको सत्ता बहिर्गमनसंगै पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र बाबुराम भट्टराई लगायतका कम्युनिष्ट घटकसंग उनको हिमचिम बढ्न थालेको छ । विप्लवले बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग भेट गरे । खुल्ला राजनीतिमा आएपछि प्रचण्डसँग उनको यो पहिलो भेट थियो ।

विहिबार एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा विप्लव पुगे । त्यहाँ प्रचण्ड सहभागि भएपछि संयुक्त भेट भयो । त्यसको शिलशिला शुक्रबार जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसम्म आईपुग्यो । भेटमा उनीहरुले विगतमा गरिएका सहकार्यको स्मरणदेखि एकिकरणसम्मका कुरा चलाएको नेताहरु बताउँछन् । जसले पूर्वमाओवादी सहितका कम्युनिष्ट घटकहरु एक हुने संकेत मिलेको विश्लेषण भइरहेका छन् ।

विप्लवसंँगको एकतामा नेकपा एमालेको माधव पक्ष पनि सकारात्मक देखिन्छ । ओलीसंग मिल्नै नसक्ने अवस्थामा पुगेको यो पक्षले प्रचण्ड, विप्लवसहितका कम्युनिष्टहरुसंग एकिकरण गरेर अघि बढ्ने बताउँदै आएको छ । ओलीसंग दुरी बढ्दै गएपछि फरक पार्टी दर्ता गरेर अघि बढ्ने योजनामा रहेको माधव पक्षले एक्लै पार्टी फुटाएर जाँदा भविष्यमा आइपर्ने अस्तित्व संकटलगायतका विषयलाई चुनौतिपूर्ण मानेको छ । यसअघिदेखि नै तयारी थालेकाप्रचण्ड–माधवलाई मात्रै पनि एकिकरण गर्न सहज देखिदैन । त्यसकारण प्रचण्ड, विप्लवसहितको पूर्वमाओवादी र अन्य कम्युनिष्ट घटकसंग एकता भए बलियो हुने माधव पक्षको विश्वास छ ।

प्रधानमन्त्रीबाट ओलीको सत्ता बहिर्गमन र कांग्रेस सभापति शेरबहादुर देउवाको आगमनसंगै विप्लवले सत्ताधारी कम्युनिष्टसंगको भेटघाटलाई तिव्रता दिनुलाई अर्थपूर्ण मानिएको छ ।कतिपयले भने ओली सरकारमा रहँदा पुरा नभएका मुद्दाहरु देउवाबाट पुरा गराउन विप्लव अघि सरेको बताउँछन् । किनकि मुलधारको राजनीतिमा आएपनि विप्लव नेकपाका केही नेता कार्यकर्ताहरु अझै रिहा भएका छैनन् ।

यसकै लागि उनको सक्रियता बढेको आँकलन भइरहेका छन् । तर कम्युनिष्ट घटकहरु भने विप्लवले पूर्व माओवादीसहितको सिङगो एकता चाहेको विश्वास गरिरहेका छन् । किनकि शेरबहादुर देउवा नेतृत्वकै पालामा २०५२ सालमा ४० बुँदे माग राखेर तत्कालीन माओवादी भूमिगत भएर सशस्त्र द्धन्द्ध थालेको थियो । अहिले फेरि कम्युनिष्टको काँधमा टेकेर देउवा सत्तामा पुगेपछि विप्लवलाई छटपटी भएको हुन सक्ने आशंकापनि गरिएको छ ।