राजनीति

हामी सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नेछौं : अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अब आफूहरु सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले सर्वाेच्च अदालतले न्याय नदिए पनि न्याय प्राप्तिका लागि अब जनताको माझमा जाने पनि स्प्रष्ट पारेका छन् ।


सरकारबाट बाहिरिसके पछि पहिलोपटक एमाले स्थायी कमिटी बैठकमा बोल्दै ओलीले भने – ‘अब हामी सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नेछौं । हामी जनताको माझमा गएर विकास निर्माणलगायतका कुरामा कडा खबरदारी गर्नेछौं ।’ एमालेको स्थायी कमिटी बैठक अहिले ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिस्ठान च्यासलमा भइरहेको छ । ।

ओलीले न्याय पाउने ठाउँ अदालतबाट आफूहरूमाथि अन्याय भएको बताएका छन् । उनले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने तर कार्यान्वयनमा जान अघि बढ्ने जनाए। साथै, उनले आफूहरु कुनै आवेगमा र उत्तेजनामा नआउने पनि बताएका छन् ।

सर्वोच्चको फैसलाका कारण सत्ताबाट हट्नुपरेपछि अपनाइने रणनीति र पार्टीभित्रको विवाद समाधानका लागि कार्यदलमा भएको सहमतिबारे छलफल गर्ने आजको कार्यसूची रहेको छ । त्यस्तै आफ्नै पार्टीको सरकार ढाल्न सघाउने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षउपर के गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा नेपाल अनुपस्थित छन् । ओलीले एकताको लागि भन्दै बैठक नरोक्ने जनाएका छन् । नेपालपक्षका एमालेका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । अदालतको परमादेशपछि केपी ओली प्रधानमन्त्री पदबाट हटेका छन् भने शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।