राजनीति

बैठक रोक्न नमानेपछि बाहिरिए माधव समूहका नेता


काठमाडौँ — नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका नेता बैठक छोडेर बाहिरिएको छ । माधव समूहले बैठकलाई रोक्न आग्रह गर्दा अध्यक्ष केपी शर्मा ओली नमानेपछि उनीहरु बैठकस्थल पुगेर बाहिरिएको हो ।

शुक्रबार करिब १२ बजेदेखि संस्थापन पक्षको स्थायी कमिटी बैठक च्यासलमा जारी छ । बैठक चलिरहेका बेला नेपालपक्षबाट कार्यदलमा रहेका नेताहरु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । नेपालपक्षका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठक स्थल पुगेका थिए ।

नेता रावलले बैठक रोक्न आग्रह गरेको जानकारी दिए । तर, अध्यक्ष ओलीले बैठक जारी रहने बताएपछि नेपालपक्षका नेताहरु बैठकस्थलबाट बाहिरिएका छन् ।