खेलकुद

युरोकपमा कायम यी रेकर्ड कहिले तोडिएलान् ?


काठमाडौँ – अनेक चुनौतीका बावजूद पनि युरोकप सफल भएको छ । युरो २०२० ले इटालीकलाई नयाँ विजेताको रुपमा पाइसकेको छ । यस युरोकपमा मैदान वा मैदान बाहिरको घटनाले निकै चर्चा पायो ।
गत जुन ११ देखि सुरु भएको युरोकप आइतबार राति १२ः४५ को खेलसँगै सकिएको छ । यस वर्षको युरोकप विगतका वर्षहरुमा हुने युरोकपभन्दा फरक रह्यो । भिन्न यस अर्थमा कि पहिले कुनै एक राष्ट्रले मात्र आयोजना गर्ने युरोकप यस वर्ष भने विभिन्न ११ राष्ट्रको विभिन्न ११ शहरमा भएको थियो ।
जसका कारण धेरै टिमले हजारौं माइलको यात्रा तय गर्नु पर्याे । स्वीट्जरल्याण्ड र वेल्सले क्रमशः १२ र पाँच हजार माइलको यात्रा गरेका थिए । यस वर्षको आयोजना नै पृथक् भएको युरोकपमा खेलबाहेक अन्य कुराले पनि चर्चा कमायो । युरोकप सुरु भएको दोस्रो दिनमा नै अप्रिय घटना घट्यो । दोस्रो दिनको दोस्रो खेल चलिरहेकै बेला डेनमार्कका खेलाडी क्रिश्चियन ईरिक्सन हृदयघातका कारण ४२ औं मिनेटमा मैदानमा नै ढले ।

मैदानमा १५ मिनेटको उपचारपछि उनलाई अस्पताल भर्ना गरियो । उनलाई कार्डियो पल्मोनरी रिससिटेसन (सीपीआर) दिनु पर्यो । जसका कारण ४५ मिनेटभन्दा बढी खेल स्थगित भयो । सामान्यतया यस्तो घटना विरलै हुने गर्छ । पछि अस्पताल लगेपछि थाहा भयो ईरिक्सनको मुटु रोकिएको रहेछ ।
युरोकपमा ४९.७ मिटरको दुरीबाट गरेको प्रहारले पनि निकै चर्चा पायो । गोल्डेन बुटको दावेदार रहेका चेक रिपब्लिकका २५ वर्षीय प्याट्रिक शिकको त्यो प्रहारले १७ वर्षदेखि रेकर्ड तोड्न पनि सफल भयो ।
यसअघि जर्मन मिडफिल्डर टोस्र्टेन फ्रिंग्सले युरो २००४ मा सबैभन्दा लामो ३८.६ मिटर दूरीबाट गोल गरेका थिए । युरोकप प्रतियोगिता भरि जम्मा ११ आत्मघाती गोल भएको थियो यो कुनै नौलो भने होइन तर आत्मघाती गोलको सुरुवात नै गोलकिपरबाट भएको थियो । समूह ई मा रहेका पोल्यान्डको राष्ट्रिय फुटबल टोलीका किपर वोसिएक शेज्नी युरोको इतिहासमा नै आत्मघाती गोल गर्ने पहिलो गोलकिपर बने ।
पोर्चुगलका कप्तान क्रिस्टियाना रोनाल्डोले गरेको हरेक क्रियाकलापको चर्चा हुने गर्छ, मैदानभित्र होस् या बाहिर । रोनाल्डोले हंगेरीसँगको खेलको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनमा गरेको क्रियाकलापले पनि विश्व बजारमा ठूलै तहल्का मच्चायो ।
पत्रकार सम्मेलनमा रोनाल्डको अगाडी राखिएको विश्व प्रख्यात पेय पदार्थ ब्राण्ड कोका कोलालाई आफ्नो अगाडीबाट हटाई पानी राखेको थिए । हेर्दा र सुन्दा सामान्य लागे पनि यो घटनापछि कोकले शेयर भाउमा ४ बिलियन डलर घाटा बेहोर्नु पर्यो । कोकको सेयर मूल्य ५६.१० बाट घटेर ५५.२ अमेरिकी डलर पुगेको छ ।
जसले कम्पनीको बजार भाउ २ सय ४२ बिलियन डलर बाट २ सय ३८ बिलियन डलरमा झरेको बताइएको छ । यद्यपि, रोनाल्डोको गतिविधी र सेयरमा गिरावट आउनु संयोग भएको जनाइएको थियो ।
इङ्ल्याण्डले वेम्वलीस्थित डेनमार्कविरुद्ध सेमीफाइनलको खेल खेल्दै थियो । प्रतिष्पर्धात्मक बनेको खेलमा ३० मिनेट थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा इङ्ल्याण्डले पेनाल्टी पाउँदा डेनमार्कको किपरको आखाँमा समर्थकले लेजर लाईट बालेर खेलको मर्यादा विपरीत कार्य गरे । उपाधि दावेदार मानिएका राष्ट्रहरु नकआउट चरणबाट नै एकाएक बाहिरिन थालेपछि युरोकपमा झन् चर्चाको विषय बन्यो ।
साविक विजेता पोर्चुगल बेल्जियमसँग र तीन पटकको विजेता जर्मनी इङ्ल्याण्डसँग हारेपछि अन्तिम १६ बाट नै बाहिरीए । यसै समूहमा रहेका २०१८ को विश्व विजेता फ्रान्सलाई पनि आफूभन्दा कमजोर आँकलन गरिएको स्वीट्जरल्याण्डले पराजित गर्दै घर फर्काइदियो । ग्रुप अफ डेथ मानिएको यस समूहबाट कुनै पनि राष्ट्र क्वाटरफाइनलसम्म पनि पुग्न सकेनन् ।