राजनीति

देउवाले छानेका ४ नयाँ मन्त्री, को कस्तो ? (भिडियोसहित)


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचौ पटक प्रधानमन्त्रीको शपथ लिएसँगै चार मन्त्री समावेश गरेर सानो मन्त्रिमण्डल गठन गरे ।

नयाँ मन्त्री बालकृष्ण खाँणलाई गृह ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून, जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । पहिलो चरणमा देउवाले छानेका मन्त्रीहरुलाई नेता कार्यकर्ताले मात्र नभइ सर्वसाधारणले पनि प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरथीको रुपमा जिम्मेबारी पाएका चार मन्त्रीहरुले कार्यभार संहालेका छन् । देउवाले पहिलो चरणमा छानेका मन्त्रीहरु तुलनात्मक रुपमा निस्कलंक र जनतामा भिजेका नेताहरु समावेश छन् । नयाँ मन्त्रीमा कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह मन्त्रालयको जिम्मेबारी दिइएको छ भने ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेबारी दिइएको छ ।

त्यसैगरी माओवादीबाट जनार्दन शर्मालाई अर्थ मन्त्रालयको र पम्फा भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ । पदभार ग्रहण नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले खोप खरिदका लागि ५ अर्ब रुपैयाँको सहमति दिने निर्णय गरे ।

उनले कोरोनाविरुद्धको खोप खरिदका लागि ५ अर्ब उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् । शर्माले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धको स्वास्थ्य उपकरण खरिद गर्नका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत जाने गरी प्रदेश र स्थानीय तहहरुलाई ५२ करोड ४६ लाख ४० हजार निकासा दिने निर्णयमा हस्ताक्षर गरेका छन् । पदभार ग्रहणपछि उनले कोभिड–१९ ले असर पारेको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने चुनौती थपिएको बताए ।

शर्माले आफू काममा केन्द्रित हुने भन्दै कर्मचारीहरुबाट पनि कामकै अपेक्षा गर्ने बताए । त्यसैगरी पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनको सम्बन्धमा विज्ञहरु सँग छलफल गरेर निर्णय लिने बताए । आज गृहमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खाँडले केपी शर्मा ओली नेतृत्वले अध्यादेशमार्फत् ल्याएको बजेटको कार्यान्वयनलाई कसरी अगाडी बढाउने भन्ने सम्बन्धमा वर्तमान सरकारले विज्ञ र प्रशासकहरुसँग सल्लाह गरी निर्णय लिने बताए ।

उनले बजेटको अध्ययन गरी संवैधानिक र कानुनी अवस्थालाई ध्यानमा राखेर निर्णय लिने बताए । मन्त्री खाँडले कोभिड–१९ को विरुद्ध अग्रपंक्तिमा खट्ने व्यक्तिहरुको सुरक्षाको व्यवस्था गर्नु राज्यको दायित्व भएको भन्दै उनीहरुको व्यवस्थापन गर्न र प्रोत्साहन भत्ता दिनका लागि सरकार गम्भिर रहेको पनि बताए ।

खाँडले व्यवस्थापिका संसदलाई बढीभन्दा बढी सक्रिय बनाउनका लागि सरकारले भुमिका खेल्ने बताए । ओली सरकारले ल्याएका अध्यादेशहरुको सम्बन्धमा कस्ता कस्ता अध्यादेशहरु ल्याएका छन् त्यस सम्बन्धमा पनि छलफल हुने बताए ।

त्यस्तै नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री पम्फा भुसालले आफूले कुनैपनि व्यक्तिगत स्वार्थ नराखी काम गर्ने बताएकी छिन् । पदभार ग्रहणका क्रममा उनले कृषियोग्य जमिनमा वर्षैभरी सिंचाई सुविधा पु¥याउने र विद्युत सेवा नपुगेका स्थानमा विद्युत पु¥याउन काम गर्ने बताइन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबारै पदभार ग्रहण गरेका थिए । कार्कीले सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएका छन् । देउवाले छानेका चार मन्त्रीहरु सम्भावना बोकेका भएपनि उनीहरुले गर्ने कामले देउवा सरकारको लोकप्रीयता मापन गर्ने देखिन्छ ।