समाचार

आजदेखि बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पहिलो मात्रा खोप दिइने


काठमाडौँ – सरकारले आजदेखि बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पहिलो मात्राको खोप दिने भएको छ । सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोप ५५ वर्षभन्दा माथिका नागरिक, सार्वजनिक यातायातका चालक र सहचालक, विश्विविद्यालय र विद्यालयका शिक्षक–कर्मचारीलाई खोप लगाइने छ ।

अमेरिकी खोप जोन्सन अर्को चरणमा ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । तर,यो खोप लगाउने मिति भने तय भइसकेको छैन । यसबाहेक विदेश जानेहरुलाई पनि खोप लगाइने विभागले जनाएको छ । पूर्ण र अति अशक्त अपांगता भएका नागरिकहरुलाई पनि खोप दिन लागिएको छ । खोप लिनका लागि सरकारले जारी गरेको प्रमाणपत्र देखाउनुपर्ने छ । ५५ वर्षदेखिका नागरिकले नागरिकता वा अन्य कुनै परिचय खुल्ने कागाजका आधारमा खोप लगाउन पाउने विभागले जनाएको छ ।

कुनै प्रमाण नभएमा स्थानीय तहले प्रमाणित गरेको कागाजात पेस गर्नुपर्ने विभागले जनाएको छ । सार्वजनिक यातायातका चालक, सहचालकहरुको हकमा आधिकारिक परिचय पत्र र सवारी साधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण पेस गर्नुपर्ने छ । यस्ता विवरण प्रमुख जिल्ला अधिकारीले प्रमाणित गर्नुपर्ने हुन्छ । विश्वविद्यालय र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्र पेस गर्नुपर्ने हुन्छ ।