राजनीति

निगमले चालेको कदमले राष्ट्रलाई कतिको हित गर्ला ?


काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई कम्पनी मोडेलमा परिणत गर्ने प्रक्रिया चर्चाको विषय बनेको छ । यसका लागि निगमले प्रबन्धपत्र र नियमावलीको मस्यौदा तयार गरेर बुझाइसकेको छ । यो कदम निगमलाई निजीकरण गर्ने प्रयासका रुपमा आएको बुझिएको छ । सो कदमविरुद्ध कर्मचारीहरु आन्दोलनमै उत्रिसकेका छन् ।तर निगमले यो कदम राष्ट्रिय हित विपरित नभएको भन्दै कुनै पनि हालतमा पछि नहट्ने दाबी गरेको छ ।


नेपाल वायुसेवा निगमले निगमलाई निजिकरण गर्ने नभई पूर्ण सरकारी स्वामित्वकै कम्पनी मोडेलमा लान खोजेको र त्यसका लागि गहन छलफल सुरु भएको बताएको छ । निगमलाई कम्पनी मोडलमा लैजाने सम्बन्धमा यसअघि पनि धेरै अध्ययन भएका थिए र प्रतिवेदनहरु पनि तयार भएका थिए । ती अध्ययन प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढेको निगम व्यवस्थापनले दावी गरिरहे पनि कर्मचारीहरु त्यो मान्न तयार छैनन् । उनीहरु त नेपालका हवाई माफियाहरुको योजनामा निगमको स्रोत साधन बिक्री गर्न खोजिएको बताइरहेका छन् । त्यसोत, सरकारलाई बुझाएको प्रबन्ध पत्रमा नेपाल वायु सेवा निगमको स्थान कहाँ हुने प्रष्ट छैन ।नेपाल सरकारको स्वामीत्व कति प्रतिशत हुने भन्ने पनि स्पष्ट छैन ।सर्बसाधारण र कर्मचारीलाई दिइने शेयर पनि प्रष्ट छैन ।

कर्मचारीको माग कम्पनीमा जान हुँदैन भन्ने नरहेको तर छलफल नै नभई ४८ घण्टामा प्रबन्धपत्र बन्नुले नियतमा खोट देखिएको उनीहरुको तर्क छ । भोलिका दिनमा कति कर्मचारी चाहिने ? अहिलेको जनशक्ती पर्याप्त छ छैन वा वढि पो छ कि ? कटौती गर्न परे के को आधारमा गर्ने जस्ता विषयमा छलफल नै नभई हँचुवाका भरमा निगम अघि बढेको भन्दै कर्मचारीहरुले आक्रोश पोखेका छन् ।
नेपालमा प्रजातन्त्र सुरु भएदेखि नै निगम प्रति सरकारको वक्रदृष्टि रहेको आन्दोलनरत कर्मचारीहरुको बुझाई छ । आफैले राजनीतिक भर्तीकेन्द्र बनाउने, अक्षम व्यक्तित्व नेतृत्वमा पठाउने अनि निगमले काम गर्न सकेन भनेर अघि बढ्न नमिल्ने कर्मचारीहरुको भनाइ छ ।

अहिले पनि निजी हवाई सेवा कम्पनीहरुलाई भरथेग गर्न निगमका जहाजलाई उडान नदिने खेल भइरहेका छन् । यो सबै भइरहँदा नेतृत्व चाहिँ सुधारमा लागेको पाइदैन् । निगमको अहित र निजी कम्पनीलाई फाइदा हुने गरी भइरहेका क्रियाकलापमा नेतृत्व मुक दर्शक बनिरहेको छ । आन्दोलनरत कर्मचारीहरु निगमलाई घाटा देखाएर सरकारी सम्पत्ति व्यक्तिको हातमा पुर्याउने प्रपञ्च सुरु भएको आरोप लगाउँछन् ।

अहिले निगमसँग सञ्चालनमा रहेका चार वाईड बडी र २ ओेटा ट्वीनेटर गरेर ६ विमान छन् । निगमले २८ ओटा कम्पनीको ग्राउन्ड ह्यान्डलिङ समेत गर्दै आएको छ ।त्यसोत यस कदमविरुद्ध कर्मचारी नै असन्तुष्ट बनिरहेका बेला निगम भने कुनै पनि हालतमा पछि नहट्ने रणनीतिमा छ ।

निगम सञ्चालक समितिले १३ असारमा प्रबन्धपत्र र नियमावली स्वीकृत गरेर अर्थमन्त्रालय पठाएको छ । अर्थले मन्त्रिपरिषदमा पठाएर निर्णय भएमा निगम कम्पनी मोडलमा जानेछ । यो प्रक्रिया द्रूत गतिमा भइरहेको देखिन्छ । कर्मचारीहरु पनि यति द्रूत गतिबाट बढी शशंकित भएका छन् ।