विदेश

श्रीलंकामा एकै परिवारका पाँच भाई मन्त्री


काठमाडौँ – श्रीलंकामा एकै घरका पाँच भाइ राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीसम्म बनेका छन् । श्रीलंकाको क्याबिनेटमा राजापाक्षे परिवारबाट नयाँ सदस्य ७० वर्षीय बासिल राजापाक्षेले अर्थ मन्त्रीको सपथ लिएसँगै राजापाक्षे परिवारबाट पाँच भाइ मन्त्री बन्न पुगेका हुन् ।

बासिल राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेका भाइ हुन् । कोरोनाभाइरस महामारी र त्यसले पर्यटनमा पारेको प्रभावले श्रीलंकाको अर्थतन्त्र समस्यामा परेका बेला गोटवायाले भाइलाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् ।


अहिले प्रधानमन्त्री रहेका ७५ वर्षीय महिन्दा सन् २०१५ सम्म श्रीलंकाको राष्ट्रपति रहेका थिए । राष्ट्रपति भईसकेका महिन्दा फेरि प्रधानमन्त्री बने । महिन्दा राष्ट्रपति रहँदा अहिले अर्थमन्त्री बनेका बासिल उनको आर्थिक सल्लाहकारका रुपमा रहेका थिए । राजापाक्षे परिवारका जेठा दाजु छामल राजापाक्षे सिँचाइ मन्त्री छन् भने प्रधानमन्त्री महिन्दाका छोरा ३५ वर्षिय नमाल राजापाक्षे युवा तथा खेलकुद मन्त्री रहेका छन् । श्रीलंकामा राज्यमन्त्री र अन्य उच्चपदस्थ व्यक्ति समेत एकै घरका छन् ।