देश

विश्व बैंकद्वारा सरकारी विद्यालय विकास र स्वास्थ्य क्षेत्रका लागि १० करोड डलर सहयोग


काठमाडौँ – विश्व बैंकले नेपालको सरकारी विद्यालय क्षेत्र विकास कार्यक्रम र सार्वजनिक स्वास्थ्य क्षेत्रको कार्यदक्षता वृद्धिका लागि १० करोड अमेरिकी डलर (करिब साढे ११ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ। शिक्षा र स्वास्थ्य क्षेत्रका लागि पाँचरपाँच करोड डलर ऋण स्वीकृत गरिएको विश्व बैंकले जानकारी दिएको छ।

नेपाल, श्रीलंका र मालदिभ्सका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले उक्त सहयोगबाट गरिब र कमजोर जनसंख्याका लागि विद्यालय र स्वास्थ्य प्रणालीको सशक्तीकरणमार्फत् मानव पुँजी विकासमा योगदान पुग्ने बताएका छन् ।

“यो सहायताबाट नेपालको शिक्षा क्षेत्रलाई भौतिक रुपमा सशक्त बनाउन तथा स्वास्थ्य प्रणालीलाई चुस्त बनाउन मद्दत पुग्नेछ। यसबाट विद्यालय उमेरका बालबालिकामा सिकाइको कमी र विद्यालय छाड्ने दर न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिएका छौं। साथै, गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा प्रभावकारी सुधार गर्ने अपेक्षा छ,” उनले भने।

विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अतिरिक्त लगानीले सिकाइका कमीको पूर्ति, गरिब छात्रछात्रा लक्षित छात्रवृत्ति, विज्ञान विषयका लागि छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन हुने बताइएको छ। यसले बालबालिकाको विद्यालय छोडेर बाहिरिने क्रम न्यून बनाउने लक्ष्य राखेको छ।