राजनीति

माओवादी दल दर्ता खारेज बारे छिटो निर्णय गर्न पूर्व माओवादी नेताहरुको आग्रह


काठमाडौँ – नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न दिएको निवेदनबारे छिटो निर्णय दिन पूर्व माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरु बहादुर भवन पुगेर प्रमुख आयुक्त दिनेश थपलिया लगायतलाई भेटेर माओवादी केन्द्रको दल दर्ता खारेजका लागि आफूहरुले बुधबार दिएको निवेदनमा के भइरहेको छ भन्ने चासो राखेका हुन् ।

एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रले २०५९ देखि पार्टीको महाधिवेशन नगरेको, पार्टी एकताका नाममा आयोगलाई झुक्याएको लगायतका दाबी गर्दै दल दर्ता खारेज गर्नुपर्ने भन्दै निवेदन दिएका थिए ।

‘उहाँहरुले कानूनी व्यवस्था यो–यो छ भन्नुभयो र सबै दलहरुको अवस्था त्यस्तै रहेको बताउनुभयो’ नेता साहले भने, ‘अरुको कुरा होइन, हामीले माओवादी केन्द्रको विषयमा प्रश्न उठाएका हौं । यसबारे छिटो निर्णय होस् भनेका छौं ।’
आयोगका अधिकारीहरुले छिट्टै निर्णय दिने आश्वासन दिएको नेता साहले जनकारी दिए ।