कोरोना विशेष

चीनसँग खरिद गरेको ८ लाख डोज कोरोना खोप आइपुग्यो


काठमाडौँ – नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो । खोप लिनको लागि निगमको जहाज हिजो चीन गएको थियो । आजदेखि साउन ८ गतेसम्म तीन वटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गरेको हो । ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । यस्तै कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ ।

यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

अहिलेसम्म आठ लाख ५१ हजार ३ सय जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।