राजनीति

संक्रामक रोगबाट प्रभावितलाई दिइने राहतमा मनोमानी


काठमाडौँ – राष्ट्रियसभा सांसदहरुले संक्रामक रोगपछि राहत तथा पुर्नस्थापना गर्ने निकायमा मनोमानी हुने गरेको आरोप लगाएका छन् । संक्रामक रोगबाट प्रभावितहरुका लागि दिइने राहत तथा पुर्नस्थापना सम्बन्धी प्रावधान ऐनमा स्पष्ट व्यवस्था हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरुले संक्रामक रोगबाट प्रभावितहरुका लागि दिइने राहत तथा पुर्नस्थापनाको प्रावधान ऐनमा स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने बताए । राहत दिने आधिकारिक र जिम्मेवार निकाय प्रष्ट हुनुपर्ने र पुर्नस्थापना र पुर्नउत्थान सम्बन्धी नीति पनि सरकारले बनाउनुपर्नेमा जोड दिएका हुन् ।

सांसद बेदुराम भुसालले संक्रामक रोगहरु प्राकृतिक विपत्तिसँग जोडिएर आउने भएकाले विपत व्यवस्थापन सँग सम्बन्धित संस्थाहरुसँग सहकार्य गर्नुपर्ने बताए । संक्रामक रोगको प्रकोप आउँदा अन्य रोगका विरामीले समेत पाउने उपचार सेवामा कठिनाई भएको भन्दै त्यस्तो स्थिति नआउने गरी राज्यले प्रवन्ध मिलाउनुपर्ने उनको तर्क थियो ।

त्यस्तै सांसद ठगेन्द्र प्रकाश पुरीले विद्यमान ऐनमा संक्रामक रोगको बारेमा स्पष्ट परिभाषा नगरिएको भन्दै यस ऐनको संशोधन आवश्यक रहेको धारणा राखे । सांसद भगवती न्यौपानेले राहत वितरणलाई राज्यको निकायबाट एकद्धार प्रणाली अनुरुप व्यवस्था गर्नुपर्नेमा जोड दिइन । विपत्तिपछि वितरण गरिने राहतमा राज्यलाई पछि पारेको देखाउन व्यक्तिहरु हावी भएको भन्दै सांसदहरुले नियन्त्रण र ऐन व्यवस्थामा जोड दिएका हुन् ।