कोरोना विशेष

कोरोनाको संक्रमणदर बढ्दै, सावधानी नपनाए भयावह स्थिति आउन सक्ने


काठमाडौँ – कोरोना भाइरस संक्रमणको गति पुनः बढ्न थालेको छ । केही सातासम्म २० प्रतिशतमा झरेको संक्रमणदर अहिले विस्तारैै बढ्दै गएको हो । सर्वसाधारणले निषेधाज्ञा हट्नुको अर्थ संक्रमणको जोखिम पनि घट्दै गएको रूपमा बुझेका कारण पनि संक्रमण पुनः फैलिएको विज्ञहरू बताउँछन् ।

केही साता अघिसम्म कोरोना संक्रमणदर निरन्तर घट्दो क्रममा थियो । निषेधाज्ञा खुकुलो हुदै जाँदा अहिले पुन कोरोना संक्रमणदर बढ्न थालेको छ । केही सातासम्म २० प्रतिशतमा झरेको संक्रमणदर, हाल २६ प्रतिशतभन्दा माथि गएको छ । गत वैशाखको अन्तिम साता संक्रमणदर झन्डै ५० प्रतिशतको हाराहारीमा पुगेको थियो । कोरोना संक्रमण कम भएको भन्दै सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि संक्रमणदर फेरि बढ्न थालेको छ । बुधबार ११ हजार ८९८ जनाको परीक्षण गर्दा २ हजार ९७९ जनामा संक्रमण देखिएको थियो । थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकाका छन् । दैनिक ५ सय बढिमा संक्रमण पुष्टि हुन थालेकोले काठमाडौ उपत्यका पुन संक्रमणको उच्च जोखिममा परेको छ ।

त्यसैगरी, मोरङ, सुनसरी, झापा, ललितपुर, चितवन, मकवानपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले केही दिनयता संक्रमण झन–झन बढ्दै गएकोले स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ नगर्न आग्रह गर्छन् । अझै पनि दैनिक कोरोना परीक्षण कम भइरहेको छ । सरकारी स्वास्थ्य संस्थामा लक्षण भएकाको निशुल्क परीक्षण हुने भएकोले लक्षण देखिएकाहरुले अनिवार्य परीक्षण गर्नुपर्ने पौडेलले बताए ।

उपत्यकामा सबै व्यापार, व्यवसाय र सबै सवारी साधन संचालन गर्न दिएसँगै चहलपहल बढ्न थालेको छ । यहाँको भीडभाड हेर्दा लाग्छ देशमा कोरोनाको कुनै जोखिम छैन । तथ्यले भने कोरोना संक्रमण उच्च गतिमा बढिरहेको देखाएको छ । सुरक्षाका उपाय नअपनाउँदा र सचेत नरहँदा जोसुकैलाई पनि कोरोना संक्रमण हुनसक्छ । लापरबाही नर्गन र स्वास्थ्य सचेतना अपनाउन विज्ञहरु सुझाव दिन्छन् ।

सरकारले निषेधाज्ञा हटाएसँगै सुरक्षित रहनुपर्ने दायित्व नागरिकको काँधमा थोपरिदिएको छ । यस्तो अवस्थामा नागरिक आफैँ सचेत नहुने हो भने स्थिति भयावह हुन सक्छ । आफू बचौँ र अरुलाई बचाऔँ भन्ने मूल मन्त्रका साथ नागरिक सचेत र जिम्मेवार हुन अत्यावश्यक छ ।