राजनीति

सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो मात्र बनायो : केदार कार्की


काठमाडौँ – विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो बनाएको आरोप लगाउनुभएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा बोल्दै प्रमुख सचेतक कार्कीले प्रदेश सरकारले हाल बन्द अबस्थामा रहेको कोशी कोभिड अस्पताल बनाएर चलाइरहेको भनेर प्रदेश सभा बैठकमा पटक पटक झुट बोलेको आरोप लगाउनुभएको हो ।

‘सरकारले किन जतिखेर पनि झुटो कुरा मात्र गर्छ ? किन संसदलाई झुट बोल्ने थलो बनाउँछ ?’ भन्दै प्रश्न गर्नुभयो । कार्कीले नागरिकले स्थापना गरेको नागरिक केयर सेन्टरलाई सरकारले बनाएको भन्दै जनतालाई र सांसदहरुलाई समेत सरकारबाट ढाँट्ने काम हुदै आएको दाबी समेत गर्नुभयो ।

त्यसैगरी कार्कीले संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूका लागि काठमाडौ गएको बेला बस्नका लागि अपार्टमेन्ट उपलब्ध गराएपनि मुख्यमन्त्रीले छुट्टै घर भाडामा लिएर करोडौं रुपैयाँ खर्च गरेको भन्दै मुख्यमन्त्रीको आलोचना समेत गर्नुभयो ।