काठमाडौँ – ‘अर्ली टु बेड अर्ली टु राइज मेक्स अ पर्सन हेल्दी, वेल्दी एण्ड वाइज’ । अंग्रेजी भाषाको यो भनाई निकै पुरानो हो । जसको अर्थ यो हो कि बिहान सबेरै उठ्नु निकै फाइदाजनक छ । यो बानीले मानिहरुलाई स्वस्थ, धनी र बुद्धिमान बनाउँछ ।
एप्पल कम्पनीका सिइओ टिम कुक बिहान पौने चार बजे उठ्छन् । फिएट कम्पनीका सिइओ सर्जियो मार्शियान बिहान साढे तीन बजे र चर्चित बेलायती व्यापारी रिचर्ड ब्रेनसन बिहान पौने ६ बजे उठ्छन् ।
सबैलाई थाहा छ, यी व्यक्ति निकै सफल छन् तर के उनीरुको सफलताको राज बिहान चाँडै उठ्नुमा लुकेको छ ? बिहान सबेरै उठ्ने सबै मानिसहरु जीवनमा अत्यधिक सफल हुन्छन् त ? बिहान चाँडै उठ्नुका विभिन्न फाइदा छन्, यसमा दुई मत छैन । सबेरै उठेर व्यायाम गरेर, नाश्ता गरेर, अफिसका लागि तयार भएर आफ्ना केही कामसमेत गर्न भ्याइन्छ ।
त्यसो भए जो मानिस अबेरसम्म सुत्छन्, उनीहरु सफल हुँदैनन् त ? जो ढिला उठ्छन् उनीहरुको काम अधुरा हुन्छन् ? के साँच्चै नै ढिला गरी उठ्ने मानिसहरु न त सफल हुन सक्छन्, न स्वस्थ नै ?
यदि तपाईंले पनि यस्तै साच्नुहुन्छ भने यसलाई आफ्नो मन मस्तिष्कबाट निकालिदिनुहोस् । किनभने एक अनुसन्धानबाट पत्ता लागेको छ कि संसार दुई हिस्सामा बाँडिएको छ । आधा जनसंख्या यस्ता छन् जसलाई बिहान चाँडै उठ्न मनपर्छ । अन्य मानिस भने ढिलासम्म सुत्न र राती अबेरसम्म जागा बस्न रुचाउँछन् । अब यस्तो त होइन कि अबेरसम्म सुत्ने संसारको आधा जनसंख्या असफल छन् ।
संसारभरीको जनसंख्यामध्ये एक चौथाई मानिस यस्ता छन् जसलाई बिहान चाँडै उठ्न मनपर्छ । यस्तै लगभग यति नै मानिसहरु राती अबेरसम्म जागा बस्न रुचाउँछन् । अनुसन्धानबाट पत्ता लागेअनुसार बिहान चाँडै उठ्ने मानिसहरुको सहयोगी भावना अलि बढी हुन्छ । उनीहरु कुनै पनि घटनाको सही विश्लेषण गर्न सक्छन् । उनीहरुको तुलनामा राती अबेरसम्म जागा बस्नेहरु कल्पनाशीलताको मामलामा बाजी मार्ने गर्छन् । उनीहरु धेरैजसो एक्लै बस्न रुचाउँछन् ।
बिहान चाँडै उठ्नुका फाइदा :
थुप्रै पटक भएको अनुसन्धानले यो प्रमाणित गरिसकेको छ कि बिहान चाँडै उठ्ने मानिसहरु आत्मप्रेरित हुन्छन् । उनीहरु लगातार काम गरिरहन्छन् । अरुले भनेको कुराहरु पनि उनीहरु धेरै मान्छन् । उनीहरुले धेरै नै लक्ष्य राख्छन् । भविष्यको योजना उत्कृष्ट तरिकाले बनाउन सक्छन् ।
बिहानै उठ्ने मानिसहरु आफ्नो स्वास्थ्यको पनि निकै ख्याल राख्छन् । राती अबेरसम्म जागा रहनेको तुलनामा सखारै उठ्ने मानिस कम रक्सी पिउँछन् । डिप्रेशनको पनि कमै शिकार हुन्छन् ।
यस्तै, राती अबेरसम्म जागा बस्नेहरुको तीक्ष्ण स्मरणशक्ति हुन्छ । उनीहरु बिहान चाँडै उठ्नेहरुभन्दा अत्यधिक बौद्धिक हुन्छन् । उनीहरुको काम गर्ने गती पनि निकै छिटो हुन्छ । राती अबेरसम्म जागा बस्नेहरु नयाँ प्रयोग गर्न पनि खुल्ला दिमागले काम गर्छन् । राती अबेरसम्म जागा रहनेहरु बिहान चाँडै उठ्नेहरु झैं स्वस्थ, बुद्धिमान र धनी पनि हुन्छन् ।
बिहान चाँडै उठ्ने टारगेट सेट गर्नु कुनै फाइदाको काम होइन भनेर स्पष्ट हुनुहोस् । तपाईंलाई अलि बेर सुत्न मन लागेको छ भने सुत्नुहोस् ।अक्सफोर्ड युनिभर्सिटीकी वैज्ञानिक क्याथरिन वुल्फका अनुसार हरेक व्यक्तिको शरीरभित्र प्राकृतिक घडी हुन्छ । उनीहरु सुत्ने उठ्ने तालिका त्यही हिसाबले चल्छ । यसलाई सिर्काडियन क्लक भनिन्छ । यसै घडीको हिसाबले हाम्रो शरीरलाई सुत्ने–उठ्ने मन हुन्छ ।
प्रतिक्रिया