देश

वर्षायाममा सर्लाहीवासीको पीडा, सरकारसँग स्थानीय आक्रोशित

प्रत्येक वर्ष बाढी र डुबानको समस्याबाट गुज्रिदै आएपनि समाधानमा जनप्रतिनिधिहरुको ध्यान नगएको स्थानीयहरुको आरोप छ ।


काडमाडौँ – अविरल वर्षाको कारण आएको बाढीमा परि यो वर्ष सर्लाहीमा तीन जनाको मृत्यु भैसकेको छ । डुबानबाट २८ घर पुर्णरुपमा भत्किएका छन् भने १ सय २७ वटा घरपरिवार विस्थापित भएका छन् । वर्षेनी बाढी र ढुवानको समस्या दोहोरिने गरेको भएपनि स्थानीय सरकारको ध्यान नगएको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् ।

अविरल वर्षाका कारण सर्लाहीको पुर्वी तथा पश्चिमी क्षेत्रका ग्रामीण बस्तीहरु जलमग्न भएका छन् । त्यस्तै सडकहरु पनि भत्केर क्षतविक्षत बनेका छन् । गत वर्ष लखनदेही नदीमा आएको बाढीले लाखौंको क्षति गरेको मलंगवा नगरपालिका वडा न– ५ भाँडसर र वडा न–६ खुटौना बस्तीमा यस वर्ष पनि बाढीले दर्जनौ घरगोठहरु डुबानमा परेको छ । खेतीयोग्य सयौं विगाह जमिन डुबानमा परेका छन् भने दर्जनौं घरहरुमा पानी पसेको छ । दर्जनौ कच्ची घरगोठहरु भत्किएका छन् ।

गाउँको पश्चिम तर्फबाट बगेको लखनदेई नदीमा आएको बाढीले गाँउ अहिले टापुमा परिणत भएको छ । गाउँबाट बाहिरिने कुनै बाटो नभएको कारण स्थानियहरुलाई दैनिक उपभोग्य सामाग्री समेत खरिद गर्न खोला तरेर आवतजावत गर्नु पर्ने बाध्यता छ । अहिले बाढीको पानीले गाउँबाट सदरमुकाम मलंगवा जोडने एकमात्र सडक समेत अवरुद्ध बनेको छ । बाढी र डुबानका कारण भएको क्षतिको डाटा संकलन गर्न आफुले सम्बन्धित वडाका वडा अध्यक्षहरुलाई निर्देशन दिसकेको मेयर निरसल साहले बताए । डाटा आईसके पछि नगरपालिकाबाट हुने सहयोग र राहत दिन आफु तयार रहेको मेयर साहले बताए ।

नेपाल–भारत सिमा छुट्याउने दशगजाको नहरमा पनि पानीको सतह बढेको छ । लामो समयदेखि मुख्य नाकाबाट आवतजावत बन्द रहेकोले विभिन्न चोर नाका भएर ओहोरदोहोर गर्दै आएका दुवैदेशका नागरिकहरु नहरमा पानीको सतह बढेपछि कम्मरदेखि घाँटी मुनीसम्म गहिरो पानी तरेर आवतजावत गर्नुपरेको छ । बस्तीमा नगरपालिकाले सडक बनाउँदा पानीको निकासको लागि नाला नबनाएकै कारण बर्षाको पानी घरघरमा पसेको स्थानीयहरुले बताए ।

प्रत्येक वर्ष बाढी र डुबानको समस्याबाट गुज्रिदै आएपनि समाधानमा जनप्रतिनिधिहरुको ध्यान नगएको स्थानीयहरुको आरोप छ ।

खोलाले बगाएर सर्लाहीको इश्वरपुर नगरपालिका वडा न–१३ का ४५ वर्षीय रामचन्द्र महतो, गोडैता नगरपालिका वडा न–३ सीमरा भगवतीपुर बस्ने सुरेन्द्र हजारीकी १३ वर्षीया छोरी रिभा हजारी र कौडेना गाउँपालिका–५, छपकैयाका रामबाबु रायकी ५ वर्षीया छोरी गुड्डी कुमारी रायको ज्यान गएको छ । यसवर्ष आएको बाढी र डुबानबाट सर्लाहीमा २८ वटा घर पुर्णरुपमा भत्किएर क्षति भएको छ भने १ सय २७ वटा घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी संतोष सिंह राठौरले जनाएको छ ।

अविरल वर्षाका कारण सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका अन्य सरकारी कार्यालयहरु पनि डुबानमा परेका छन । वर्षाको पानी कार्यालयको कोठाभित्र पसेर कोठाभित्र राखिएका अतिआवश्यक कागजात तथा फाइलहरु डुबेर खराब हुने स्थितिमा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले बताए । पानीको निकास बिनाको विकासले पनि कतिपय बस्ती डुबानमा परेका छन् । बाढीबाट सर्लाहीको सदरमुकाम मलंगवामा मात्र नभइ जिल्ला भएर बग्ने बागमती, लखनदेही, झिम, फुलजोर र बाँके खोलामा आएको बाढीले खोला छेउछाउका बस्तीहरु पनि डुबानमा परेका छन् ।