राजनीति

एमाले एकताका लागि अन्तिम प्रयास र अवरोध

एक अर्कालाई तल्लो तहसम्म गिरेर आरोप प्रत्यारोप गर्दै आएका उनीहरुको कदम नै समस्या समाधानका प्रयास विपरित देखिँदै आएको छ ।


काठमाडौँ – नेकपा एमालेभित्र गिजोलिइएको विवाद समाधानको प्रयास अझै सफल हुन सकेको छैन । पार्टी अध्यक्ष ओलीको कदमलाई लिएर असन्तुष्ट नेपाल पक्षलाई संगै लिएर अघि बढ्न यो बीचमा धेरै प्रयास भएपनि दुबै पक्षको अहंकारका कारण यो सम्भव नदेखिएको हो । तर दोश्रो तहका नेताहरु भने जसरी पनि पार्टी एक बनाएरै छाड्ने अठोटमा लागेका छन । के यो प्रयासले सफलता हासिल गर्ला त ?

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीचको सम्बन्ध पानी बारबारकै अवस्थामा छ । एकले अर्कालाई तुच्छ गाली गर्न समेत पछि नपर्ने तथा पार्टी भित्रको आन्तरिक किचलोको अन्त्यका लागि आफू मात्र तयार रहेका बताउने उनीहरुकै कारण विवाद अन्त्य हुन सकेको छैन । यो बीचमा विवाद समाधानका लागि दोश्रो तहका नेताहरुले भरमग्दुर प्रयास गरेपछि ओलीले लचकता देखाएका छैनन् भने नेपालले आफ्ना माग बढाउदै लगेका छन । नेपाललाई तर्साउन बारम्बार अल्टिमेटम दिदैँ आएका ओलीले पनि निर्णायक कदम चाल्न नसक्दा विवाद गिजोलिएको हो ।


आफू कमजोर हुने डरले अध्यक्ष केपी शर्मा ओलीले तथा चिन्ह र नाम गुम्ने डरले माधवकुमार नेपाल पक्षले ठोस कदम चाल्न नसक्दा एमाले कानुनी रुपमा भने यद्यपी एकै पार्टी छ । यो बीचमा विवाद समाधानका लागि दुबै पक्षबाट केहि प्रयास भएपनि ती निरर्थक रहँदै आएका छन । जसको मुख्य कारण नेपाल र ओली नै हुन । तर हार नमानेको दोश्रो तहका नेताहरुले पुन एकचोटी आफ्नो प्रयासलाई अघि बढाएका छन । फलत: विहिबारसम्म पार्टी एकतामा देखिएका अवरोधहरु हट्ने उनीहरुले दाबी गरेका छन् । ओलीले एकता अवरुद्ध हुने देखेपछि आइतबार कार्यदल ब्यूँताएका थिए । जुन कार्यदलका तीन दिनका बैठकहरु सकारात्मकउन्मुख भएको नेताहरुको भनाई छ ।

कार्यदलको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बिद्रोही नेता माधवकुमार नेपाल पक्षका ५/५ जना कार्यदलका सदस्यहरु सामेल थिए । जसको बैठक तीनदिनबाट लगातार चलिरहेको छ । तर अवस्था भने कार्यदलका नेताहरु भने जति सहज देखिएको छैन । किनकी पछिल्लो पटक ओलीले नेपाल पक्षको माग अनुसार आफूले १० औँ महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटी ब्यूँताउँदा पनि एकताका लागि नेपाल पक्ष नआएको आरोप लगाएका छन् ।

यता २३ जना माओवादी पृष्ठभूमिका नेताहरुसहितको केन्द्रीय कमिटी मान्नु पर्ने अडान नेपाल पक्षले स्वीकार गरेका छैनन् । त्यस्तै नेपाल पक्ष कि पार्टी नेतृत्व कि प्रधानमन्त्री चाहिने मागसम्म पुगिसकेको छ । जुन माग ओली पक्ष कुनै पनि हालतमा मान्न तयार छैन । तर नेताहरु भने समस्या समाधान नहुनुको दोष एकले एर्कालाई लगाँउदै आएका छन ।

पार्टी एकताका लागि आफू ईमान्दार रहेको बताउने नेपाल र ओली नै भने समस्या समाधान गर्न भन्दा बल्झाउन लागि परेका छन । एक अर्कालाई तल्लो तहसम्म गिरेर आरोप प्रत्यारोप गर्दै आएका उनीहरुको कदम नै समस्या समाधानका प्रयास विपरित देखिँदै आएको छ । यसैबीच कार्यदलका सदस्यहरु भने एमाले एकता नजिक पुगेको दाबी गर्छन ।