राजनीति

बागमती प्रदेशसभाको बैठक असार २६ गते बस्ने


काठमाडौँ – बागमती प्रदेशको प्रदेशसभा बैठक असार २६ गते शनिबार बस्ने भएको छ। प्रदेशसभाका प्रवक्ता विनोद अमात्यका अनुसार सभामुख सानुकुमार श्रेष्ठले शनिबार दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका हुन्।

बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलले २ पटकसम्म अवरुद्व गरेपछि सभामुखले २१ गते अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित गरेका थिए। सरकारले असन्तुलित ढंगले बजेट ल्याएको भन्दै सत्तापक्ष र प्रतिपक्ष सरकारले ल्याएको बजेटप्रति असन्तुष्ट बनेका छन्।

आफ्नो माग पूरा नभएसम्म कुनै पनि हालतमा सदन चल्न नदिने चेतावनी प्रतिपक्षी दलले दिइरहेको बेलामा सरकारले भने कुनै तयारी नै नगरी बैठक बस्न लागेको छ। नेकपा एमालेको मुख्य सचेतक दीपक निरौलाले प्रतिपक्षी दलसँग सरकारले कुनै छलफल नगरेको बताए।

उनले सदनको अवरोध हटाउन प्रतिपक्षी लचक नबनेसम्म सरकारले छलफल अघि नबढाउने बताए। निरौलाले सत्तापक्षमा देखिएको असन्तुष्टि दलभित्र मात्रै भएको भन्दै बजेट पास गर्दा सदनमा एमाले एक हुने बताए।