राजनीति

ओली र नेपालबीच भेटवार्ताको तयारी


काठमाडौँ – सत्तारूढ नेकपा (एमाले)भित्र देखिएको विवाद अन्त्यका लागि कार्यदलले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी गरिएको छ । दुई नेताबीच आजै भेटवार्ता हुने र भेटवार्ताको समय एवं स्थान केहीबेरपछि तय हुने एमाले विवाद समाधान कार्यदलका एक सदस्यले बताएको छ ।

कार्यदलले गरेको सहमतिको अपनत्व लिनका लागि पनि दुवै नेताहरूबीच भेटवार्ता गराउन लागिएको हो । भेटमा दुई नेताबीच देखिएको अविश्वास, मतान्तर र विवाद समाधानका लागि संवाद हुनेछ। दुई नेताबीच भेट गराउन कार्यदलका रहेका दुवैतर्फका नेताहरू जुटिरहेका छन् ।

बैठकपछि दुवै पक्षका नेताहरूले छलफल निष्कर्षउन्मुख रहेको दाबी गरेका थिए। उनीहरूले दुवै नेताको भेटवार्ता गरेर सहमतिलाई अन्तिम रूप दिने बताएका थिए । बुधबार नै सिंहदरबारमा बसेको कार्यदलको बैठकले सहमतिको खाका तयार पारेको हो।

पछिल्लो तीन दिनयता कार्यदलको निरन्तर बैठक बस्दै आएको छ। बैठक बिहीबार बिहान ११ बजेपनि बस्ने तय भएको छ। नेताहरूले त्यसअघि नै सहमतिलाई मूर्तरुप दिएर बिहीबारको बैठकलाई अन्तिम बनाउने तयारी गरिरहेका छन्।

गएको जेठ २ गतेयता ओली र नेपालबीच भेटवार्ता भएको छैन। जेठमा सिंहदरबारमा भएको संवादपछि कार्यदल गठन गरिएको थियो । तर, एमालेभित्रको विवाद चुलिएसँगै कार्यदल पछिल्लो समय निष्क्रिय बनेको थियो। कार्यदललाई सोमबार ब्युँताइएको थियो।