खेलकुद

इटालीको ३२ खेलदेखिको अपराजित यात्रामा स्पेनले पूर्ण विराम लगाउन सक्ला ?


काठमाडौँ – आज रातिबाट युरोकपमा सेमीफाइनलको यात्रा सुरु हुँदैछ । पहिलो सेमीफाइनलमा इटाली र स्पेन भिड्दै छन् । ठूला यी दुई देशबीचको भिडन्तलाई खेलप्रेमीले निकै चासोको रुपमा हेरेका छन् ।

युरोपका दुई ठूला पावरहाउस राष्ट्र इटाली र स्पेन । फुटबल इतिहासमा यिनीहरुले छुट्टै स्थान बनाएका छन् । अहिलेसम्म यी दुईको मेजर टुनामेन्टको ट्रफी गन्ने हो भने ९ वटा रहेको छ ।

स्पेनले विश्वकप र युरोकप गरेर चार उपाधि जितेको छ भने इटालीले ५ वटा उपाधि जितेको छ । इटाली जसले चार पटक विश्वकप र एक पटक युरोकप जितिसकेको छ भने स्पेन एक पटकको विश्व विजेता र तीन पटकको युरोकप विजेता भईसकेको छ । आज यिनै राष्ट्रबीच युरोकपक फाइनलका लागि प्रतिष्पर्धा हुँदै छ ।

लण्डनस्थित वेम्वली मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । युरोकप त्यसमाथि पनि फाइनलको यात्रा तय गर्नका लागि एक कदम मात्रै पछि । खेल रोमाञ्चक हुने निश्चित छ । स्टार खेलाडीको बाहुल्यता भएको दुवै राष्ट्रले फाइनल यात्राका लागि आफ्नो दुई सय प्रतिशत दिनेवाला छन् । फुटबल प्रेमीका लागि यो खेल फाइनल खेलभन्दा कमी हुने छैन । एक किसिमले भन्ने हो भने यो खेल नै फाइनल जस्तै हुने आश गर्न सकिन्छ । यसअघि पनि यी दुई टिम युरोकपमा तीन पटकसम्म आमने सामने भईसकेको छ । जसमा स्पेनले दुई पटक जित हात पार्दा इटालीले भने एक पटक मात्रै जित हात पारेको छ ।

आज हुने चौथौं खेलमा कस्को पल्लाभारि हुनेछ त्यो सबैको प्रतीक्षाको विषय बनेको छ । इटाली र स्पेनको फुटबल इतिहास हेर्ने हो भने अहिलेसम्म ३३ पटक भिडेका छन् । यसमा स्पेनको पल्ला केही भारी देखिएको छ । स्पेनले १२ खेलमा जित निकाल्दा इटालीले ९ पटकसम्म मात्रै जितेको छ । त्यस्तै बाँकीका १२ खेल बराबरीमा सकिएको छ ।

इतिहासलाई छोडेर पछिल्लो खेलको मात्र मूल्यांकन गर्ने हो भने इटाली सशक्त देखिन्छ । इटालीले जारी युरोकपमा खेलेको पाँच खेलमा अहिलेसम्म हारको सामना गर्नु परेको छैन । त्यस्तै इटाली पछिल्ला ३२ खेलमा अपराजित रहँदै आएको छ । उनले २७ खेलमा जित निकाल्दा पाँच खेल बराबरीमा सकिएको छ । इटालीले लगातार पछिल्लो १३ खेलमा जित निकाल्दै आएको छ । इटाली यही जितलाई निरन्तरता दिन चाहन्छ भने स्पेन इटालीको जितको यात्रामा पूर्णविराम लगाउन चाहन्छ ।

एउटा रोचक कुरा के छ भने यसअघि लगातार सबैभन्दा बढी खेल नहार्ने टिमको रेकर्ड ब्राजिल र स्पेनको नाममा छ । उनीहरुको नाममा अहिलेसम्म ३५ खेलमा अपराजित हुने रेकर्ड रहेको छ । इटालीले यदि स्पेनलाई पराजित गरेमा उ यो रेकर्डको नजिक पुग्ने छ, र नयाँ कीर्तिमान रच्ने सम्भावना कायम नै राख्ने छ ।