राजनीति

जसपाको दुवै पक्षका नेताहरू निर्वाचन आयोगमा



काठमाडौँ –जनता समाजवादी पार्टी को दुवै पक्षका नेताहरू निर्वाचन आयोगमा पुगेका छन्। पार्टीको आधिकारिकताबारे छलफल गर्न बोलाएपछि उनीहरू आयोगमा पुगेका हुन्। 

जसपा अध्यक्ष उपेन्द्र यादव र महेन्द्रराय यादव आयोगमा पुगेका छन्। त्यस्तै, बाबुराम भट्टराई लगायत पनि आयोग जाँदै छन्। त्यस्तै, अर्का अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी पनि आयोगमा पुगेका छन्। 

अध्यक्ष यादवले पार्टीको आधिकारिकताका लागि आयोगमा निवेदन दिएका थिए। त्यसपछि आयोगले ठाकुर पक्षसँग जवाफ मागेको थियो। ठाकुर पक्षको जवाफ आएपछि आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो। 

यसअघि पनि दुवै पक्षले एक-अर्कालाई कारबाही गरिएको जानकारी दिँदै दल दर्ता किताबमा अद्यावधिक गर्न निवेदन दिएका थिए। तर, आयोगले प्रक्रिया नपुगेको भन्दै दुवै पक्षले गरेको कारबाहीलाई मान्यता दिएको थिएन। 

यस पटक भने यादव पक्षले बहुमत केन्द्रीय कार्यकारिणी समितिको बैठक बसालेर कारबाही गरेका थिए। ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ।