राजनीति

दुई कित्तामा विभाजित जसपालाई मिल्ने अन्तिम मौका


काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षलाई आज छलफलका लागि बोलाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका नेताहरुलाई सहमतिका लागि बोलाइएको जानकारी दिनुभयो । अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने र सहमति नभए जुन पक्षको दाबी पुग्छ त्यसैअनुसार निर्णय गर्ने प्रक्रिया सुरु हुने श्रेष्ठले बताउनुभयो ।

दुवै पक्षका नेताहरु आ–आफ्नो अडानमा कायमै रहेकाले सहमतिको सम्भावना क्षीण देखिएको नेताहरू बताउँछन् । जसपामा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ । दुवै पक्षले एकअर्कालाई कारबाहीको निर्णय गर्दै निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदनसमेत दिएका छन् ।

यद्यपि आयोगले दुवै पक्षको कारबाही अमान्य भन्दै जसपाको पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको छ ।