समाचार

आजदेखि सबै सार्वजनिक सवारी साधन चल्न पाउने, यस्तो छ निषेधाज्ञाको मापदण्ड



काठमाडौँ -वैशाख १६ गतेदेखि काठमाडौँमा उपत्यकामा जारी निषेधाज्ञा क्रमबद्धरुपमा खुकुलो पार्दै पूर्णरुपमा खुला गर्ने सरकारी नीति अनुसार आजदेखि अधिकांश क्षेत्र खुला हुँदैछन् । आजदेखि सार्वजनिक सवारी सधानमा लगाइएको जोरविजोर प्रणाली हटेको छ । अब २५ सिट क्षमताभन्दा माथिका सवारी साधन सबै चल्न पाउनेछन् ।

काठमाण्डौँ जिल्ला प्रशासनले आइतवार निषेधाज्ञाको अवधि बढाए पनि केही बाहेक अधिकांश क्षेत्रलाई खुल्ला गर्ने निर्णय गरेको थियो । मानिसको भीडभाड हुने सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, डान्स रस्टुरेन्ट, पब लगायत क्षेत्र भने अझै खुलाइएका छैनन् । व्यवसायीले निरन्तर दबाब दिए पनि साथै ट्याक्सी र २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायात बाहेक अरुमा रोक कायमै राखिएको छ ।

निषेधाज्ञालाई खुकुलो बनाउने प्रशासनको निर्णयबाट सर्वसाधारणमा केही आशसँगै त्रास पनि बढेको छ । सधैँ चलायमान हुनु पर्ने आर्थिक क्षेत्र ठप्प हुँदा हात मुख जोर्न नै समस्यामा परेका जनता भने सरकारको निर्णयलाई सही मान्छन् ।

निषेधाज्ञालाई खुकुलो बनाउँदै गर्दा संक्रमण दर भने घट्ने क्रममा देखिदैन । हाल नेपालमा कोरोना संक्रमण दर करिब २० प्रतिशत रहेको छ ।