खेलकुद

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने ८ जना पक्राउ


काठमाडौँ – युरोकपका खेलमा सट्टेबाजी गरेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं ढोकाटोल बस्ने ४७ वर्षीय जिवन लामा, काठमाडौँ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका ७ का सुरज टिवडेवाल, भारत बिहार पूर्वीचम्पारण रक्सौल घर भएका ४६ वर्षीय अशोक कुमार गुप्ता, काठमाडौं धापासी बस्ने चितवन खैरहनी नगरपालिका ५ टरौली घर भएका ४५ वर्षीय गोबिन्द प्रसाद आचार्य, काठमाडौँ इन्द्रचोक बस्ने भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेश कुमार अग्रवाल, काठमाडौँ क्षेत्रपाटी बस्ने भारत राजस्थान झुनझुन सुरजगढ घर भएका ३३ वर्षीय सुचित डालमिया अग्रवाल र काठमाडौँ मरुटोल बस्ने मोरङ बिराटनगर नगरपालिका ७ का ४६ वर्षीय अमरनाथ गुप्ता रहेका छन् ।

उनीहरुले युरोकप र कोपा अमेरिका फुटबलका खेलमा अनलाइन मार्फत ठूलो रकमको बाजी राख्न लगाई काठमाडौँका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थानबाट अनलाईन बेटिङ गरी नगदी कारोबार समेत गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको महाशाखाले जनाएको छ ।

सट्टेबाजीमा प्रयोग भएको रकम आईएमईबाट पठाइने र लिने गरी कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।उनीहरुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।