राजनीति

रुपाले दिएको शिक्षामन्त्री श्रेष्ठविरुद्धको मुद्दा सुवेदीको इजलासमा


काठमाडौँ – शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध परेको जातीय विभेवको मुद्दाको सुनुवाई न्यायाधीश नहकुल सुवेदीको इजलासमा हुने भएको छ । रुपा सुनारले शिक्षामन्त्रीले जातीय विभेदलाई संरक्षण गरेको भन्दै आईतबार मुद्दा दायर गरेकी थिइन् । रूपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर रिट दिएकी हुन् ।

उनको रिटमा जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनअनुसार कारबाहीको माग गर्दै संविधान र कानुनले वर्जित जातीय भेदभाव तथा छुवाछुतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी गरिएको छ ।

अदालतबाट म्याद थप भई अनुसन्धानमा रहेका विपक्षीलाई पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरूपयोग गरी प्रहरी कार्यालयमै पुगेर अनुसन्धान प्रभावित पारेको भन्दै मन्त्री श्रेष्ठलाई पदबाट तत्काल हटाउन रूपाले माग गरेकी छन् ।

मन्त्री श्रेष्ठविरूद्ध उजुरी दिँदा प्रहरीले लिन नमानेको भन्दै रूपाले उनीविरूद्धको उजुरी लिएर अनुसन्धान अघि बढाउने आदेश पनि माग गरेकी छन् ।

रूपालाई जातका आधारमा कोठा नदिएको आरोपमा बबरमहलकी सरस्वती प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । पछि सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै रिहा गरिएको थियो ।

घरबेटी प्रधान भने श्रीमान् मुकुन्दको रोहबरमा जमानतमा छुटेकी थिइन् । त्यहीबेला शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिन महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।