विदेश

तोकिएको समयमा सबै विदेशी सैनिकलाई अफगानिस्तान छोड्न तालिबानको चेतावनी


काठमाडौँ – तालिबानले सबै विदेशी सैनिकलाई आउँदो सेप्टेमबरसम्ममा अफगानिस्तान छाड्न चेतावनी दिएको छ ।

अमेरिकी तथा नेटो सैनिक आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट बाहिरिँदै छन् । काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि एकहजार सैनिक रहने खबर आएपछि तालिबानको यस्तो चेतावनी आएको हो । काबुलमा रहने सैनिकमा अधिकांश रुपमा अमेरिकी हुने छन् । तालिबानका नेताले तोकिएको समय सीमा भन्दा पछि बाहिरिने वा समय सीमापछि पनि अफगानिस्तानमा रहने विदेशी सैनिकहरु जोखिममा आउने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

नेटोको विगत २० वर्षदेखि अफगानिस्तानमा जारी रहेको सैन्य अभियान अन्त्य हुने चरणमा छ । तर विदेशी सैनिकको अन्तिम समूह बाहिरिने क्रममा रहँदा अफगानिस्तानमा हिंसाका घटनाहरु बढ्दै गएका छन् । तालिबान बिद्रोहीले आफ्नो नियन्त्रणमा लिएका क्षेत्रहरु बिस्तारको क्रम निरन्तर बढाएको छ । विदेशी सैनिकको साथ पाउँदै आएको अफगान सेनाले अब देशको सुरक्षाको जिम्मा एक्लै सम्हाल्ने तयारी गरिरहेको छ । तर यसले अफगानिस्तानको शान्ति सुरक्षालाई लिएर चासो भने बढ्दै गएको छ ।