राजनीति

चीनले नेपाललाई समेटेर विश्वका राजनीतिक दलका नेताहरुसँग सम्मेलन गर्दै


काठमाडौँ – नेपालका उत्तरी छिमेकी मुलुक चीनमा चिनियाँ कम्युनिष्ट पार्टीले एक सयौं बसन्त पार गरेको छ । सयौं वर्ष पार गरेको अवसरमा नेपालका नेतालाई समेटेर चीनले ‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ को आयोजना गर्दै छ ।

यसमा विश्वका राजनीतिक दलका नेताहरुलाई समावेश गरी विश्वको राजनीति बारे छलफल गरिने छ । सो सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सि जिनपिङले ‘कि नोट स्पीच’ दिने छन् । त्यसपछि नेपालसहित विश्वका नेताहरुले पठाएको भिडियो सन्देश प्रशारण गरिने छ ।

यो कार्यक्रम नेपाली समयअनुसार मंगलबार साँझ ६ बजेपछि सुरु हुने छ । उक्त कार्यक्रममा नेपालको तर्फबाट एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायत सहभागिता जनाउने छन् । यो कार्यक्रम भर्चुअल माध्यमबाट हुनेछ ।

चीनले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सयौं वर्षगाँठलाई उत्सवको रुपमा मनाइरहेको छ ।