काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आइतबार राति ओली र रावलबीच करिब डेढ घण्टा छलफल भएको हो । नेता रावलका स्वकीय सचिव एकेन्द्र कुवँरका अनुसार रावल हिजो राति करिब ९ बजेतिर बालुवाटर प्रवेश गरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन ओलीले माधव नेपाल पक्षका सांसहरूलाई सोमबार साँझसम्मको अल्टिमेटम दिएका छन् । उनले निर्धारित समयमा हस्ताक्षर फिर्ता नभए पार्टी एकताको सम्भावना सकिने चेतावनी पनि दिएका छन् । त्यसअघि नै सहमति जुटाउन एमालेका दोस्रो तहका नेताहरू सक्रिय बनेका छन् ।
पछिल्लो समय एमालेको विवाद समाधानका लागि एमालका दोस्रो तहका नेताहरू सक्रिय बनिरहेका छन् । केपी ओलीका पक्षबाट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेलसहितका नेताहरू र नेपाल पक्षबाट घनश्याम भुसास, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्यलगायतका नेताहरूले निरन्तर छलफल गर्दै आएका छन् । तर, ठोस निष्कर्ष निस्किन सकेको छैन ।
आइतबार बिहानमात्र नेताहरू नेम्वाङ, पौडेल र पोखरेलले नेता नेपाललाई भेटेका थिए । सो भेटमा उनीहरूले ओलीसँग भेट गर्न नेपाललाई आग्रह गरेका थिए । तर, नेपालले भेट्ने इच्छा नदेखाएको पौडेलको भनाइ छ । आइतबार राति नेपाल पक्षीय नेता रावलले ओलीलाई भेटेका हुन् ।
प्रतिक्रिया