काठमाडौँ – काठमाडौँ महानगरपालिकाले रत्नपार्कस्थित आकाशे पुलको भित्तामा कोरिएको चित्र महानगरले मेटिदिएपछि कलाकारहरु आर्कोशित बनेका छन् । समाजसेवी दुजाङ्ग शेर्पाको योजना तथा व्यक्तिगत लगानीमा कोरिएको चित्र महानगरपालिकाले मेटिदिए पछि उनीहरु आक्रोशित बनेका हुन् । कलाकारहरुले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरुको सम्मानका लागि आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग समेत राखेका छन् ।
कलाकारहरुले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरुको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोरेका थिए । दुर्जाङ शेर्पासहित चार कलाकार र तीन स्वयं सेवकको टोलीले ६ दिन लगाएर यो पेन्टिङ तयार गरेको थियो । तर, महानगरले मेटाइदियो । विश्वका विभिन्न देशले कोरोना महामारीका विरुद्ध अग्रमोर्चामा रहेकाहरुप्रति सम्मान व्यक्त गर्न विभिन्न उपाय अपनाए । तर नेपालमा भने उनीहरुको सम्मानमा कसैले ध्यान दिएनन् ।
कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाईकर्मीको सम्मानका लागि रत्नपार्क स्थित आकाशे पुलको भित्तामा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटेपछि कलाकारहरुले चित्र कोर्न पाउनुपर्ने माग राखेका छन् । दुजाङ्ग शेर्पा नेतृत्वको कलाकारको टोलीले आईतबार काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीमार्फत् मेयरलाई निवेदन दिएका हुन् । कलाकार दुजाङ्ग शेर्पाले कोरोना महामारी विरुद्धमा अग्रस्थानमा रहेर काम गर्ने फ्रन्टलाइनरहरुलाई थोरै भएपनि प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ आफुहरुले वडाबाट अनुमति लिएर चित्र बनाएकाले फेरि सोही स्थानमा चित्र कोर्न पाउनुपर्ने माग गरे ।
कलाकारहरुको निवेदन बुझ्दै काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले महानगरपालिका भित्रको महत्वपूर्ण ठाउँहरुमा कुनैपनि काम गर्दाखेरी महानगरपालिकाबाट स्वीकृती र सहमती लिनुपर्ने बताए । शेर्पा नेतृत्वको कलाकार टोलीले काठमाडौं महानगरपालिका वडा नं. २८ को अनुमति लिई सो ठाउँमा चित्र बनाएको दाबी गरेको छ । तर महानगरपालिकाले स्वच्छ सफा सहर निर्माणको परिकल्पना अनुसार शहरको सौन्दर्यमा आँच पुगेको भन्दै सो चित्र मेटाएको थियो ।
प्रतिक्रिया