राजनीति

विप्लव नेतृत्वका नेताहरुले भेटे प्रधानमन्त्री ओलीलाई, बन्दीलाई छिट्टै छाड्नुपर्ने माग


काठमाडौँ –विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु पुगेका थिए । सो क्रममा आफूहरुले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वकर्माले आइतबारै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँले भेटका क्रममा हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिनुभयो । उहाँले ‘बन्दीलाई छिट्टै छाड्नुपर्ने माग राखेको पनि बताउनुभयो । विश्वकर्माले सरकारको तर्फबाट राजन भट्टराईलाई आफूहरुको माग पूरा गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको पनि जानकारी दिनुभयो ।

उहाँले राजनीतिमा इमानदारिता सबैभन्दा ठुलो कुरा भएको भन्दै सहमति कार्यान्वयन गर्ने सन्दर्भमा समस्या देखिएको पनि बताउनुभएको छ । सो क्रममा प्रधानमन्त्रीले राजनीतिक घटनाक्रमका कारण आफूले समयमा विप्लवको माग सम्बोधन गर्न नसकेको भन्दै अब शंका नगर्न आग्रह गर्नुभएको थियो ।