काठमाडौँ – यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न क्वाटरफाइनलको खेलमा चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा पुगेको छ । अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराउँदै डेनमार्कले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
टोमस डिलेनीको गोलमार्फत डेनमार्कले अग्रता लिएको थियो । खेलको ५ औँ मिनेटमै जेन्स स्ट्राइगरको कर्नर किकमा डिलेनीले हेडमार्फत गोल गरेका थिए । त्यस्तै ४२ औँ मिनेटमा कास्पर डोलबर्गले गोल गर्दै अग्रता दोब्बर बनाए । जोएकिम माह्लेको क्रसमा डोलबर्गले गोल गरेका थिए। पहिलो हाफमा डेनमार्कले २-० को अग्रता लिएको थियो ।
दोस्रो हाफमा चेक रिपब्लिकका प्याट्रिक सिकले गोल गर्दै टिमलाई खेलमा फर्काए । ४९ औँ मिनेटमा भ्लादिमिर कोफालको क्रसमा सिकले गोल गर्न सफल भएपनि त्यो जितका लागि पर्याप्त भएन ।
सन् १९९२ को युरो कप विजेता रहेको डेनमार्कले त्यसयता पहिलो पटक सेमिफाइनलको यात्रा तय गरेको हो । डेनमार्कले सेमिफाइलनमा युक्रेन र इङ्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। युक्रेन र इङ्ल्याण्ड राति पौने १ बजे इटालीको ओलम्पिको इन रोममा आमनेसामने हुनेछन् ।
प्रतिक्रिया