राजनीति

कांग्रेसको महाधिवेशन सहमतिमा, विधिसम्मत हुनेमा आशंका

विधिसम्मत महाधिवेशन हुँदा पदविहीन हुने डरमा रहेका नेताहरुले उक्त प्रस्तावलाई सहर्ष स्वीकार्ने कतिपय नेताहरुको निष्कर्ष छ ।


काठमाडौँ – आगामी भदौ १६ देखि १९ सम्मलाई १४ औं महाधिवेशनको कार्यतालिका तय गरेको नेपाली कांग्रेसमा विकल्पबारे पुनः चर्चा सुरु भएको छ । परिस्थिति अनुकुल नभएकाले महाधिवेशनमाथि आशंका बढीरहेका बेला नेताहरुले विकल्प अघि सारेपछि नेताहरु सोच्न थालेका हुन् । विकल्प मध्ये सहमतिको महाधिवेशन र पदीय बाँडफाँडलाई चासोमा राखिएको छ ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन आउन अब मात्र दुई महिना बाँकी छ । तर महाधिवेशन लक्षित तयारी, क्रियाशिल सदस्यता सम्बन्धी पेचिलो विवाद र पार्टी नेतृत्वमा नेताहरुबीचको शक्ति टकरावले भदौमै महाधिवेशन हुनेमा आशंका जन्मिएको छ । यहीँ बेला परिस्थिति अनुकुल नभएको नाममा नेताहरु विकल्पबारे छलफल चलाउन थालेका छन् । महाधिवेशन नजिकिएसंगै सभापतिका लागि सरगर्मी बढीरहेका बेला कोठे बैठकमा व्यस्त नेताहरुले आफ्नो पक्षमा पल्ला नपर्ने देखेपछि विकल्प अघि सारेका हुन् ।

नयाँ विकल्पमध्ये सहमतिमा महाधिवेशन गर्ने र पदाधिकारीमा पदीय भागबण्डा लगाउने विषयलाई नेताहरुले चासो दिएका छन् । दोस्रो तहका नेताहरु अघि सरेर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको शिर्ष तहबाट पार्टी नचल्ने भन्दै नेतृत्व खोस्न लागि परेपछि भाग बन्डाकै आधार सहमतीय पदाधिकारी चयन गर्ने निक्र्याेलमा नेताहरु पुगेका हुन् । सभापतिको आकांक्षिहरुको हानाथापले कतै विधिसम्मत तरिकाले महाधिवेशन नै पो नहुने हो की भन्ने भयले नेताहरुलाई सताउन थालेको देखिन्छ ।

सहमतिको महाधिवेशन भए सभापति शेरबहादुर देउवालाई २ बर्षसम्म निरन्तरता दिने र वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई कार्यकारी सभापति वा सहसभापति बनाउनेमा नेताहरु छलफल चलाउन थालेका छन् । उनीहरुले दोस्रो तहका नेताहरुका लागि पनि सोचिसकेका छन् । दोस्रो तहका नेताहरुलाई पदीय हैसियत दिनका लागि पदाधिकारीमा थप पद सिर्जना गरिने र भागबण्डा लगाउने बुझिएको छ ।यसअनुसार अहिले कायम रहेका दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र केन्द्रीय समितिका पदाधिकारीको संख्या बढाईनेछ ।

विधिसम्मत महाधिवेशन हुँदा पदविहीन हुने डरमा रहेका नेताहरुले उक्त प्रस्तावलाई सहर्ष स्वीकार्ने कतिपय नेताहरुको निष्कर्ष छ । किनकि यतिवेला संस्थापन र अन्य गरि दुबै पक्षका नेताहरु आफ्नै नेतृत्वविरुद्ध उभिएर सभापतिको आकंक्षी बनेका छन् । सभापति देउवाले निधिको साथ गुमाएको देखिन्छ भने आफ्नै पक्षबाट आधा दर्जन सभापतिको आकंक्षी बनेपछि पौडेल पनि समस्यामा छन् । पदहरुको हानाथाप हुँदा सहमतीय पदाधिकारी चयन हुन सकस हुने गर्दछ । त्यसो त सहमतिबाट पदाधिकारी चुन्ने सस्कृती नेपाली राजनीतिमा हराउँदै पनि गएको छ ।

सहमतिको महाधिवेशनमा कतिपय नेताले असन्तुष्टि पनि जनाएका छन् । केही दिनअघि नेपाली कांग्रेसको आधिकारिक जुम मिटिङमा वरिष्ठ नेता पौडेलले सहमतिमा महाधिवेशन गर्ने कुरा उठाएपछि सभापतिका आकंक्षी शेखर कोइराला बाहिरिएका थिए । कोभिडको संक्रमण र अदालतमा संसद् विघटनको मुद्दा विचाराधीन रहेकोले सदर भए चुनावमै जानुपर्ने अवस्थाका कारण पनि सहमतीय विकल्पका बारेमा चर्चा हुन थालेको हो । तर नेपाली काँग्रेसभित्र सहमतिबाट नेतृत्व चयन गर्ने कसरत फलामको चिउरा चपाए सरह हुने धेरैको बुझाई छ ।