राजनीति

एकताको अन्तिम विकल्प हस्ताक्षर,हस्ताक्षर फिर्ता नभए फुट्ला त एमाले ? (भिडियोमा)

पार्टीलाई पहिलेकै अवस्थामा फर्काइ बैठकसमेत डाकिसक्दा समेत माधव पक्षले हठ कायम राख्नु उचित नहुने आलोचकहरुको टिप्पणी छ ।



काठमाडौँ – सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी बैशाख ३० भित्रै महाधिवेशन र साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको छ । शनिबार वालुवाटारमा बसेको बैठकले माधव पक्षको उपस्थिति बिनै थप निर्णय गरेको हो । शुक्रबारको बैठकमार्फत हस्ताक्षर फिर्ताको निर्देशन दिएका ओलीलेमाधव पक्षबाट अपेक्षाकृत व्यवहार नपाएपछि माधव खेमाप्रति थप चिढिएकोहो ।

प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वालुवाटारको केन्द्रीय कमिटी बैठकमार्फत वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ निवर्तमान सांसदलाई सोमबार ५ बजेसम्म हस्ताक्षर फिर्ता गर्न निर्देशन दिए । यो ओलीको एक प्रकारको धम्कीको भाषा पनि हो ।विपक्षी गठबन्धनमा सामेल भएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नभए पार्टी फुटको घोषणा पनि हुने भन्दै ओलीले दुर्घटनाको घण्टी बजाएका छन् । तर माधव नेपाल पक्ष ओलीको निर्देशनमा किन्चित नरम भएको छैन ।

शुक्रबार माधव नेपालसंग फोन सम्पर्क गरेर एकताका लागि हस्ताक्षर फिर्ता कुरा गरेका ओलीले शनिबार पुनः फोन संवाद गरेर उही आग्रह गरेका थिए । सम्भवत शनिबार केन्द्रीय कमिटि बैठक बस्नु अघि ओलीले पुन अवसर दिएका थिए ।जवाफमा नेता नेपालले हस्ताक्षर फिर्ता नहुने, बरु एकताका लागि कार्यदललाई सक्रिय बनाउन र केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरे । तर ओली रोकिएनन्, शनिबारकै बैठकमार्फत आगामी बैशाख ३० भित्रै महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका उनले साउन २५ मा विधान सम्मेलन गर्ने निर्णय गरेका छन् ।

अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन रहेकै बेला ओलीले असार १६ मा दशौं महाधिवेशन आयोजक कमिटी खारेज गरेर पार्टीलाई २०७५ जेठ २ मा फर्काएको घोषणा गरेका थिए । त्यसपश्चात शुक्रबार केन्द्रीय कमिटीको बैठक बोलाएर माधव पक्षलाई समेट्न खोजेका ओलीको बैठकमा माधव पक्ष सहभागी भएन । सहमतिका आधारमा बैठक बोलाउनु पर्ने अडानमा रहेको माधव पक्षले आवश्यक सल्लाह र परामर्शबिना राखिएको बैठक नजाने बताउँदै आएको छ ।

ओली भने माधव पक्षलाई बोलाएर जसरी पनि हस्ताक्षर फिर्ता गराउने तयारीमा छन् । अदालतको सम्भावित कदमलाई लिएर तर्सिएका ओलीले फैसला अगाबै हस्ताक्षर फिर्ता नभए सत्ता त्याग्नुपर्ने अवस्था आउन सक्छ । तर माधव पक्षले आफुले होसमै हस्ताक्षर गरेकाले फिर्ता नहुने यसअघिदेखि नै बताउँदै आएको छ ।

पार्टी एकताका लागि निरन्तर अनौपचारिक संवादमा रहेका दोस्रो तहका नेताहरु दुई नेतालाई मिलाउन क्रियाशिल छन् । शनिबार पनि अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली तथा माधव तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यलगायतले राजधानीको एक होटलमा वार्ता गरेका थिए ।

एकताका लागि भन्दै दोस्रो तहका नेताहरूले दौडधुप गरिरहे पनि अध्यक्ष ओली र नेता नेपाल एकतातर्फ भन्दा आ–आफ्नो मार्गचित्रअनुसार अघि बढेका छन । उनीहरूका गतिविधि, अभिव्यक्ति र निर्णय मिल्नेभन्दा छुट्टिनेतर्फ अग्रसर छन् । राजनीतिज्ञहरुका भनाई अनुसार भने कम्युनिष्ट आन्दोलनलाई जोगाउन पनि एमालेको फुट अशुभ हुने बताउँछन् । पार्टीलाई पहिहेकै अवस्थामा फर्काइ बैठकसमेत डाकिसक्दा समेत माधव पक्षले हठ कायम राख्नु उचित नहुने आलोचकहरुको टिप्पणी छ ।