देश

हेलम्बुका बाढीपीडितलाई आर्थिक सहयोग


काठमाडौँ – विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितहरुलाई शनिबार आर्थिक सहयोग गरेका छन् ।
आर्थिक सहयोगका लागि हेलम्बु पुगेका नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता महेन्द्र लामाका अनुसार आयरल्याण्डमा बसोबास गर्दै आएका युवा समाजसेवी सागर लामाको पहलमा ३ लाख २२ हजार ४५० रुपैयाँ संकलन गरी नेपाल पठाइएको थियो ।

त्यस्तै गरी ह्युमन नेचर फाउन्डेस नेपालका अध्यक्ष तथा चर्चित गायक अविनाश घिसिङको पहलमा आयरल्याण्ड, हङकङ र अमेरिकाबाट १ लाख ३५ हजार संकलन भएको थियो । संकलित रकम पीडितहरुलाई विभिन्न मापदण्डको आधारमा शनिबार वितरण गरियो ।

जसअनुसार परिवारका सदस्य गुमाउने प्रति परिवार १० हजारको दरले १२ परिवारलाई १ लाख २० हजार, जीर्ण घर भएका १० परिवारलाई प्रति परिवार २ हजारको दरले २० हजार, घरबारविहिन १०५ परिवारलाई प्रति परिवार ३ हजारको दरले ३ लाख १५ हजार रुपैयाँ वितरण गरिएको छ ।

राहत वितरणका लागि कांग्रेसका युवा नेता महेन्द्र लामा सहितको टोली सिन्धुपाल्चोकको तिम्बु, चालिसे, चिरुखर्क, हल्दे, चनौटे र ग्याल्थुम पुगेको थियो ।