राजनीति

सबैको ध्यान सभापतिमै, को बन्दैछन् उपसभापति र महामन्त्री ?


काठमाडौँ – आगामी भदौं १६ देखि १९ सम्म कार्यतालिका सार्वजनिक भएको कांग्रेसको १४ औं महाधिवेशनमा ७ नेताले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । तर सभापतिकै विषय पेचिलो बन्दै गइरहेका बेला अन्य पदमा चासो देखाइरहेका नेताहरु अलमलमा परेका छन् ।


नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति बन्नतीन संस्थापक नेताहरुका तीन छोराहरु एकअर्काको निवास धाएर छलफल चलाइरहेका छन् । महेन्द्रनारायणका छोरा विमलेन्द्र निधिको निवासबाट शुरु भएको फरक समीकरण बनाउने प्रयास मंगलबार गणेशमानका छोरा प्रकाशमान सिंहको घरसम्मआईपुग्यो । यसको निरन्तरता शुक्रबार बीपीका छोरा शशांक कोइरालाको निवासमा हुँदैछ । सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने घोषणा गरेपछि यी तीन नेता मिलेर गए मात्र नेतृत्व हत्याउन सकिन्छ भन्ने निष्कर्षमा पुगेका छन् । तर कसले कसलाई सभापति छाड्ने भन्ने निर्णय हुन सकेको छैन ।

संस्थापन पक्षबाटै सभापति देउवा र उपसभापति निधि आकंक्षीका रुपमा अघि आइरहेका बेला संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका ५ नेताले उम्मेद्वारी घोषणा गरेका छन् । सभापतिकै टुङगो नलाग्दा अन्य पदमा आकंक्षा देखाइरहेका नेताहरु भने अलमलमा देखिन्छ । सभापतिका लागि भिड्ने तयारी गरेका नेताहरुले समेत अन्य पदमा कसलाई अगाडी ल्याउने भन्ने तयारी गरेका छैनन् । तर कतिपय नेताहरुले आ–आफ्नै मानसिकता तयार गरिरहेका छन् ।

सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री, एक कोषाध्यक्ष र आठ सहमहामन्त्री गरि १३ पदाधिकारी पदमा निर्वाचन हुने व्यवस्था छ । संवैधानिक ‘क्लस्टर’ अनुसार समावेशी कोटाका आठ सहमहामन्त्री हुने व्यवस्था विधानमा राखिएको छ ।तर सभापतिकै उम्मेद्वार धेरै हुँदा दोस्रो तहका नेताहरु कसलाई नेता मानेर अघि बढ्ने भन्नेमा अन्योल देखिएका हुन् । यसबाहेक महाधिवेशनबाट आफूअनुकूल नेतृत्व कसरी स्थापित गर्न सकिन्छ भन्ने चिन्ता–चासोमा केन्द्रित भएका नेताहरु पार्टीको भावी नीतिबारे भने स्पष्ट बोलेका छैनन् ।

पाँच वर्ष ६ महिनापछि बल्लतल्ल महाधिवेशन हुने छाँट देखाएको कांग्रेसमा नेतृत्वमा सबैले रस भरिरहेका छन् ।दोस्रो तहका नेताहरु उदाउन महत्वपूर्ण मानिएको १४ औं महाधिवेशनमा युवाहरुले अवसर पाउने ढोका त बन्द भएको छ नै, नेतृत्वकै विषयमा छिनोफानो नहँुदा अन्य पद लिएर चित्त बुझाउने योजनामा रहेका नेताहरुसमेत अलमलमा परेका छन् ।