राजनीति

देउवा प्रधानमन्त्री भए होला खोप उपलब्ध ?


काठमाडौँ – कोरोना संक्रमणबाट बच्ने मुख्य उपाय नै खोपलाई मानिएको छ । तर नेपालमा भने अहिले सम्म केवल ७ लाख ५२ हजारले मात्र पूर्ण खोप लगाउन पाएका छन् । सरकारले खोप खरिद प्रकृया अघि बढेको भनेर जतिसुकै फूर्ति गरे पनि यसमा कुनै प्रगति भएको छैन । यता कांग्रेसका सभापति शेर बहादुर देउवा भने आफु प्रधानमन्त्री भएलगतै जनतालाई खोप उपलब्ध गराउने दाबी गरेका छन् ।

सरकारले कोरोना भाइरस संक्रमणको दर कम भएको भन्दै निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । मंगलबरदेखि सातै दिन पसल खोल्ने र जोरबिजोर प्रणालीमा सार्वजनिक यातायातका साधन संचालनमा आएका छन् । तर, संक्रमणको जोखिम भने उतिकै छ । जोखिम कायमै रहेको समयमा हतारमा निषेधाज्ञा खोल्दा छिट्टै अर्को लहर आउने खतरा रहेको विज्ञहरुले बताइरहेका छन् । सरकारले स्वास्थ्य सम्बन्धि कुनै तयारी नगर्दा केहि समय अघि मात्र कोरोना संक्रमितले अक्सिजनसहितको अस्पताल नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउनु परेको थियो ।

अहिलेको यस्तो अवस्थामा जनताको सुरक्षाको लागि सरकारले पहिलो प्राथमिक खोपलाई दिनु पर्ने हो । तर, अझै खोप कहिले आउने हो टुंगो छैन । नेपालमा अहिलेसम्म २५ लाख ८७ हजार ८७३ जनाले खोपको पहिलो मात्रा र ७ लाख ५२ हजार १ सय १० जनाले खोपको दुवै मात्रा अर्थात पूर्ण खोप प्राप्त गरेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली खोप छिट्टै आम नागरिकले लगाउने पाउने आश्वासन दिन छोडेका छैनन ।

यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफू प्रधानमन्त्री भएलगतै आम नागरिकलाई खोप उपलब्ध गराउने दाबी गर्छन् । प्रधानमन्त्री भएको मन्त्रिपरिषद्को पहिलो बैठकमा नै कोभिड–१९ नियन्त्रणका लागि खोपबारे निर्णय हुने र सबैका लागि निःशुल्क खोपको व्यवस्था गर्नु आफ्नो प्राथमिकता हुने देउवाले बताए ।

कोरोना संक्रमणका कारण मानिस रोगबाट पीडामा परेका छन् नै, जारी निषेधाज्ञाबाट सिर्जित विभिन्न समस्याका कारण सर्वसाधारण मर्कामा परेका छन् । विभिन्न देशमा जनताको जीवन रक्षाको लागि सरकार नै अघि बढेको छ । तर, नेपालमा भने प्रधानमन्त्री नहुदा सम्म जनतालाई विभिन्न आश्वासन देखाउने प्रधानमन्त्री भइसकेपछि आफ्नो स्वार्थ मात्र पुरा गर्ने काम कहिले सम्म जारी रहला ?