राजनीति

अवैध आयोजक कमिटीले गरेको निर्णयको कुनै अर्थ छैन : बेदुराम भुसाल


काठमाडौँ – नेकपा एमालेका नेता बेदुराम भुसालले महाधिवेशन आयोजक कमिटीको निर्णयले पार्टी एकतामा सघाउ नपुर्‍याउने बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटीलाई  निरन्तरता दिने निर्णय गरेको छ। 

“उहाँहरूले गर्नुभएको एकपक्षीय निर्णय पार्टी एकताको पक्षमा छैन”,एमाले वरिष्ठ नेता माधव नेपाल निकट नेता भुसालले भने, “जुन आयोजक कमिटी आफैं अवैध छ त्यसले गरेको निर्णयको कुनै अर्थ छैन।”

महाधिवेशन आयोजक कमिटीको बैठकले भुसालसहित रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, विष्णु रिमाल, रघुजी पन्त, लेखराज भट्ट र रघुवीर महासेठलाई स्थायी कमिटीमा थप्ने निर्णय गरेको थियो।

महाधिवेशन आयोजक कमिटी खारेज गर्ने निर्णयसँगै यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत ११ जनालाई गरेको कारवाही स्वतः निष्प्रभावी भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।