खेलकुद

आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी


काठमाडौँ – आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन । नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ । ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा रहेका छन् । यस अघि उनी ६१ औं स्थानमा रहेका छन् ।

कुशल बंगलादेशका शकिब अल हसन भन्दा अघि रहेका छन् । घरेलु भूमिमा भएको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल वरीयतामा परेका हुन् । नयाँ वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्का ८८ औं स्थानमा यथावत रहेका छन् ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९२ औं स्थानमा रहेका छन् । उनको दुई स्थान सुधार भएको हो । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७६ औं स्थानमा यथावत रहेका छन् । नेपाल टी–ट्वान्टी वरीयताको १३ औं स्थानमा यथावत रहेको छ ।