देश

नेपाल–भारत सिमानाबाट आठ चिनियाँ ड्रोन बरामद


काठमाडौँ – नेपालसँग सीमा जोडिएको भारतको बिहारमास्थित आठवटा चिनियाँ ड्रोन बरामद गरिएको छ । बिहारको पूर्वी चम्पारणमा ड्रोनसहित तीनजनालाई पक्राउ गरिएको भारतका सुरक्षा अधिकृतहरूले जानकारी दिएका छन् ।

भारतको सशस्त्र सीमा बलले शनिवार एउटा सेतो कार रोकेको अनि त्यसमा बेग्लाबेग्लै बाकसमा आठवटा ड्रोन क्यामरा पाइएको सई दयानन्द कुशवाहाले बताए । ‘कारमा बस्नेहरूले कहाँबाट ड्रोन ल्याएको भन्ने सन्तोषजनक उत्तर दिन सकेनन् । हामीले उनीहरूबाट नेपाली मुद्रा पनि बरामद गरेका छौं,’ कुशवाहाले बताए । पक्राउ पर्नेमा विकी कुमार रौनियार, कृष्णानन्द कुमार र राहुल कुमार छन् ।

कुन्दवा चैनपुर प्रहरी कार्यालयका स्टेसन हाउस अफिसर मिथिलेश कुमारले पक्राउ परेका तीनैजनालाई जेल पठाइएको बताए । ड्रोन क्यामरा विवाहको शूटिङ गर्नका लागि ल्याइएको भनी पक्राउ परेकाहरूले बताएको पूर्वी चम्पारणका एसपी नवीनचन्द झाले जानकारी दिए । तर प्रहरीले सबै कोणबाट अनुसन्धान गरिरहेको उनको भनाइ छ । गत आइतवार जम्मुमा रहेको भारतीय वायुसेनाको स्टेसनमा ड्रोन आक्रमण गरिएको सन्दर्भमा यो घटना सार्वजनिक भएको हो ।