काठमाडौँ – कमोडिटी एक्स्चेन्ज मार्केटसम्वन्धी नीतिगत एवम् प्रकृयागत व्यवस्थासम्वन्धी निर्देशिका २०७८ लागू भएको छ । निर्देशिकामा कमोडिटी एक्स्चेन्ज मार्केट संचालन गर्ने कम्पनीको चुक्ता पुँजी न्यूनतम डेढ अर्ब रुपैयाँ तोकिएको छ ।
धितोपत्र बोर्डले लागू गरेको निर्देशिकामा अब कमोडिटी एक्स्चेन्ज मार्केट संचालन गर्न चाहने कम्पनीहरुले आवेदन दिन सक्ने जनाइएको छ । कम्पनीहरुले कारोबार गर्ने वस्तुअनुसार चुक्ता पुँजी न्यूनतम डेढ अर्बदेखि २ अर्ब रुपैयाँसम्म तोकिएको हो । कृषिजन्य उत्पादन, तेलजन्य वस्तु र अन्यको कारोबार गर्ने कम्पनीको चुक्तापुँजी न्यूनतम डेढ अर्ब तोकिएको छ । ती वस्तुसँगै बहुमूल्य धातु सुन, चाँदी, प्लाटिनम तथा धातुजन्य वस्तुहरु आल्मुनियम, तामा, शिशा, निकल जस्ता वस्तुको समेत कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब तोकिएको छ ।
यस्तो बजार संचालन गर्ने कम्पनीहरुको संस्थापक समूहको सेयर कम्तीमा ५१ प्रतिशत र बढीमा शत प्रतिशतसम्म लगानी गर्ने प्रस्तावसहित बोर्डमा निवेदन दिन सकिनेछ । बोर्डमा आवेदन परेपछि योग्य कम्पनीहरूलाई प्रारम्भिक अनुमति दिने उल्लेख गरिएको छ ।


प्रतिक्रिया