अर्थनीति

म्याद समाप्त भएका वस्तुहरूको बिक्री नगर्न उपभोक्ता संरक्षण विभागको आग्रह



काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य म्याद समाप्त भएका वस्तुहरूको बिक्री नगर्न आग्रह गरेको छ ।

कोरानाको महामारी न्यूनीकरणसँगै व्यापार व्यवसाय सुचारु हुन थालेपछि उपभोग्य म्याद समाप्त भएका वस्तुहरू बिक्री हुनसक्ने भन्दै विभागले सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।

विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने हुनाले त्यस्ता खाद्य वस्तुको बिक्री नगरी उत्पादक, पठौरीकर्ता, वितरक, बिक्रेताहरू र आमउपभोक्ता सबै जिम्मेवार सजग रहन आवश्यक रहेको जनाएको छ ।

झन्डै दुई महिनासम्म भएको निषेधाज्ञाको बेला बिक्री नभएर म्याद नाघिसकेका सामान बिक्री हुनसक्ने भन्दै विभागले त्यसो नगर्न सम्बन्धित निकायलाई अनुरोध गरेको हो । बजारमा नियमित अनुगमन गरिने र खान अयोग्य, म्याद नाघेका सामान बिक्री गरेको पाइए तत्काल कारबाही गरिने विभागले जानकारी दिएको छ ।

सोमबारदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो गरेर बेलुकासम्म बजार पसल खुल्न पाउने व्यवस्था गरिएको छ । उपभोक्ता ऐन २०७५, ले उपभोग्य म्याद समाप्त भएका वस्तु आयात एवं बिक्री गर्नु÷गराउनुलाई अनुचित व्यापारिक क्रियाकलाप वा कसुर मानी दण्ड सजायको व्यवस्था गरेको छ ।