समाचार

निषेधाज्ञाले यातायात मजदुरको बिचल्ली : २ महिना पूर्ण बेरोजगार, सापटीमा चल्दैछ जिन्दगी


काठमाडौँ – कोरोना भाइरस नियन्त्रणको लागि जारी निषेधाज्ञाका कारण तराइमा २ महिनायता सार्वजनिक यातायात ठप्प छ ।
जसका कारण यातायातका कर्मचारीहरु पुर्णरुपमा बेरोजगार भएका छन् । लकडाउनको समयमा अत्यावश्यक र केही नीजि सवारीसाधनहरु चले पनि सार्वजनिक यातायातका साधनहरु बैशाखदेखि नै ग्यारेजमा थन्किएका थिए । त्यस्ता सवारीसाधन अब मर्मत नगरी चल्ने अवस्थामा छैनन् ।
सर्लाहीको सदरमुकाम मलंगवाबाट लामो तथा छोटो दुरिका लागि १७० वटा, बरहथवाबाट ३० वटा, बयलबासबाट २० वटा र पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने लालबन्दी , हरिवन लगायतबाट २०÷२० वटा गरी जम्मा २४० वटा बसहरु दैनिक रुपमा चल्दै आएका थिए । ती २४० वटै बसमा प्रति बस ३ जना कर्मचारीहरु गरि जम्मा साढे ७ सय जनाले रोजगारी पाएका थिए ।

यसका साथै बस स्ट्याण्डहरुमा पनि टिकट काउन्टरमा काम गर्ने कर्मचारी देखि सफाइकर्मीहरु समेत गरि करिब ४ दर्जन भन्दा बढी मजदुरले रोजगारी पाएका थिए । तर लकडाउनका कारण २ महिनायता उनीहरु पूर्ण बेरोजगार भएका छन् । लकडाउनमा आफुहरुको समस्या प्रति सरकारले कुनै चासो नदेखाएको यातायात मजदुरहरुले दुखेसो पोखेका छन् ।
निषेधाज्ञा लम्बिदै जादा यातायात क्षेत्रमा काम गर्ने मजदुर र कर्मचारीको अवस्था नाजुक बन्दै गएको छ । रोजगारी गुम्दा उनीहरुलाई दैनिक छाक टार्न पनि धौधौ भइरहेको छ । लकडाउनले नेपालमा सबैभन्दा बढी मार सार्वजनिक यातायातमा परेको भए पनि यस विषयमा सरकारले ध्यान दिन नसकेको यातायातकर्मीहरुले गुनासो गरेका छन् ।

अन्य क्षेत्र तथा पेशामा लागेकाहरुको काम लकडाउनको समयमा पनि आंशिक रुपमा चलिएका भएपनि यातायात क्षेत्रका कर्मभारी भने पूर्ण रुपमा वेरोजगार छन् । दुईछाक टार्न यतिबेला साहु महाजन सँग कर्जा लिएर काम चलाउनुपरेको एक बस कर्मचारीले बताए ।

सर्लाहीको स्थानीय प्रशासनले मंगलबार देखि जिल्लामा लकडाउन केही खुकुलो परेको छ । लकडाउन खुकुलो पार्दै लोकल रुटमा चल्ने साना तथा ठूला सार्वजनिक सवारीसाधनहरुलाई चलाउन अनुमती दिएको छ तर जिल्ला बाहिर लामो दुरीमा चल्ने सार्वजनिक सवारीसाधनहरुको हकमा भने यस्तो गरिएको छैन । जिल्ला बाहिर काठमाडौ ,बिरगंज , नारायणगढ ,जनकपुर , बिराटनगर लगायतमा चल्ने लामो दुरीका बसहरु अहिले पनि ग्यारेज र बसपार्कमा थन्किएका छन् । बसहरु नचल्दा सामान ओसार्न लेवर तथा ठेला र रिक्सा चालकहरु पनि काम विहिन भएका छन् ।
चल्न दिने हो भने लामो दुरीको गाडी पनि चलाउन अनुमती दिनुपर्ने नत्र लोकल गाडीलाई पनि चलाउन अनुमती दिन नहुने मलंगवा–बिरगंज रुटमा चल्ने एक बस चालक बताउछन् ।

स्थानीय प्रशासनले लोकल रुटमा चल्ने सार्वजनिक सवारीसाधनलाई चलाउन अनुमती दिए पनि अर्को जिल्लासम्म चल्ने लामो दूरीका सार्वजनिक सवारी साधनहरुको संचालनको हकमा माथिबाटै निणर्य हुनुपर्ने भएकाले लामो दुरीमा चल्ने गाडीहरुलाई अनुमती नदिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए ।