राजनीति

कांग्रेसको जनसम्पर्क अधिवेशन समितिवाट बस्नेत र पोखरेलले दिए राजीनामा


काठमाडौँ – नेपाली कांग्रेस केन्द्रले जनसम्पर्क समिति अष्ट्रेलियाको अधिवेशन सम्पन्न गर्न बनाएको समितिका सदस्य देवेन्द्र बस्नेत र कञ्चन पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

बस्नेत र पोखरेलले छुट्टाछुट्टै पत्रमार्फत केन्द्रलाई पठाएको राजीनामा पत्रमा केन्द्रीय प्रतिनिधि एनपी सावदको प्रतिवेदनलाई लत्याइएको, केन्द्रीय समितिले गरिएका सिफारिसका आधारमा १५ जनाको समिति निर्माण गर्ने बिगतमा भएको सहमति विपरित आफ्नै किसिमले मनोमानी ढंगले नामहरु राखेर २१ जनाको समिति बनाएको लगायतका कारण देखाउँदै नैतिकताको आधारमा पदबाट राजीनामा दिएको जानकारी दिएका छन् ।
दुई जिम्मेवार नेताहरुको यो राजीनामासंगै करिब एकदशक देखि जारी विवाद अझै चर्किने संभावना बढेको यहाँका कांग्रेसीवृत्तमा चर्चा चल्न थालेको छ । त्यसो त १० वर्षदेखि अधिवेशन समेत हुन नसकेको अवस्थामा रहेको यहाँको कांग्रेसलाई मिलाउन केन्द्रले अघिल्लो वर्ष केन्द्रीय सदस्य एनपी सावद र नेविसंघ पूर्व महामन्त्री सरोज थापालाई केन्द्रीय प्रतिनिधिको रुपमा अष्ट्रेलिया खटाएको थियो ।

केन्द्रीय प्रतिनिधि सावदले अष्ट्रेलियामा रहेका सबै पक्षका कांग्रेसहरुसंगको सरसल्लाहमा कृष्ण गिरी, अभिमन्यु केसी र देवेन्द्र बस्नेत सम्मिलित समिति समेत बनाएको थियो । त्यो समितिले गिरीको तर्फबाट ७ जना र केसीरबस्नेत पक्षले ७ जना गरि १५ जनाको अधिवेशन तयारी समितिका लागि नाम सिफारिस गर्ने भनिएपनि अहिले आएर केन्द्रले २१ जनाको समिति बनाएर एउटा पक्षलाई मात्र पक्षपोषण गरेको प्रति यहाँका अधिकांश काग्रेस कार्यकर्ताले चर्को आलोचना गरिरहेका छन् ।
कांग्रेस नेता कञ्चन पोखरेलले सहमति र सहकार्य मार्फत सबै एकवद्ध भएर संगठनलाई अगाडी बढाउनु पर्छ भनेर लागेको तर त्यसका विपरित अधिवेशन समिति निर्माण भएकाले आफूले नैतिकताको आधारमा राजीनामा पेश गरेको बताउनुभयो ।

अहिले बनाइएको समितिप्रति आक्रोश ब्यक्त गर्दै जनसम्पर्क राज्य समितिका एक नेताले भने, ‘सबैभन्दा रोचक पक्ष त अहिले बनेको २१ जनाको समितिमा एनपी सावदको रोहवरमा बनाइएको अधिवेशन तयारी समिति निर्माणका लागि बनाइएको कमिटीका अभिमन्यु केसी कै नाम छैन, कांग्रेस केन्द्रले यहाँको विवाद सल्टाउनु भन्दा झन् गम्भीर बनाइदिन सहयोग पुगेको छ ।

एनआरएन अष्ट्रेलियाको चुनावको मुखैमा आएर केन्द्रले यति गम्भीर त्रुिटका साथ संगठनलाई कमजोर बनाउने किसिमले अधिवेशन तयारी समिति घोषणा गर्नुले यहाँको सांगठनकि संरचनालाई गम्भीर धक्का पुग्ने र यसको प्रत्यक्ष असर एनआरएनए निर्वाचनमा समेत पर्न सक्ने बताइएको छ । लामो समयको विवाद र आन्तरिक कलहमा अल्झिएको अष्ट्रेलियाको कांग्रेसलाई मिलाउने क्रममा केन्द्रले कृष्ण गिरि जगन्नाथको संयोजकत्वमा गत साता २१ सदस्यीय समिति सदस्य गठन गरेको हो ।

समितिमा बस्नेत सहित सोम गुरुङ , कन्चन पोखरेल, सुरेन्द्र सापकोटा, सबिन बराल ,गणेश पौडेल रहेका छन् । त्यसैगरि प्रेम सापकोटा, गणेश केसी, हेमन्त काफ्ले, मधुकर गुरुङ, निल थपलिया ,सुरेश गुरुङ, , निरज श्रेष्ठ, शितल गिरी, राजकुमार अधिकारी, रोहित खड्का,राजेश केसी ,मनिषा अर्याल, रमेश छत्कुली, दिलिप पोखरेल रहेका छन् ।

तर केन्द्रले अहिले निर्माण गरेको समितिमा जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक दिनेशराज जोशी, एनएडिएफका पूर्व अध्यक्ष विवेक थापा, पाका कांग्रेस नेता दुर्गा आचार्य, छिरिङ्ग शेर्पा, थानु शाक्य, महेन्द्र लम्साल, डिल्ली ढकाल, पूर्णनाथ घिमिरे, रमेश जोशी, दीपक पराजुली, रविन्द्र गौतम, प्रेम पाठक, वसन्त पौडेल, अच्यूत अधिकारी, भूपाल सिटौला, साइमन मुडभरी, अशोक सुवेदी लगायतका नाम नसमेटिनु र जिम्मेवार नेताहरुले राजीनामा दिने क्रम बढ्दै जाँदै गर्दा यदि केन्द्रले आफ्नो निर्णय नसच्याए कुनैपनि दिन अर्को समानान्तर जनसम्पर्क समिति गठन हुने संभावना रहेको बताएका छन् ।

बिगत १० वर्षदेखि अष्ट्रेलियाका विभिन्न राज्यमा संगठित रहेर पार्टी गतिविधिलाई अगाडी बढाईरहेको जनसम्पर्क राज्य समितिहरुले पनि यो अधिवेशन तयारी समितिप्रति असन्तुष्टी राख्दै आफ्नै तरिकाले अधिवेशन गर्न सक्ने संभावना पनि त्यतिकै रहेको बताउन थालेका छन् ।

यता अधिवेशन तयारी समिति संयोजक कृष्ण गिरीले आफूहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेको समितिलाई केन्द्रले पूर्णता दिएसंगै अब अधिवेशन मार्फत यहाँको विवाद सल्टाउन मार्ग प्रशस्त भएको बताउनु भयो । अहिलेको समिति सबैले चाहेको जस्तो समिति बनेकोले अब चाँडै अधिवेशनका लागि आफूहरु पार्टीको निति र निर्देशन अनुरुप लाग्ने पनि गिरीको तर्क थियो ।