राजनीति

निर्वाचन आयोगले बोलायो जसपाको दुवै पक्षलाई छलफलमा


काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ । जसपाको विवाद समाधानका लागि आयोगले अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै समूहलाई असार २२ गते छलफलका लागि बोलाएको हो । जसपाको दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएका थिए ।

जसपाको दुवै पक्षलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम छलफलका लागि बोलाइएको आयोगले जानकारी गराएको छ । सो दफामा ‘आयोगले विवादका सम्बन्धित पक्षहरूलाई आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिने’ उल्लेख छ ।