राजनीति

प्रधानमन्त्री ओलीले घरबेटी छुटाउने मन्त्रीलाई भने, ‘तपाईंले ठीक गर्नु भएन’


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई छुटाउन पुगेका मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रतिक्रिया दिएका छन् ।

आफ्नै गाडीमा राखेर घरसम्म पुर्‍याएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको उक्त क्रियाकलापबारे प्रधानमन्त्री ओलीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छ्न् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठले ठीक नगरेको भन्दै ध्यानाकर्षण गराएको बताउनुभयो । कानुनमन्त्री श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘प्रधानमन्त्रीज्यूले यसबाट आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ ।’ ‘प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई तपाईंले जे गर्नुभो, ठीक गर्नुभएन भन्नुभएको छ ।’

कानुन कार्यान्यन गर्ने जिम्मेवारीमा रहेको व्यक्तिबाटै कानुन उल्लंघन हुनु दुर्भाग्य भएको उहाँले बताउनुभयो । ‘मन्त्रीले आफ्नै गाडीमा चढाएर लैजानु भनेको दुर्भाग्य हो, ‘हाम्रो क्याबिनेट मिनिस्टरले गरेको गल्तीलाई हामीले स्वीकार्नुपर्छ ।’

कानुनमन्त्रीले एकातर्फ छुवाछुत हटाउन कानुन बनाउने, अर्कोतर्फ कार्यान्वयन नगर्ने व्यवहार ठीक नहुने भन्दै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको बताउनुभयो । सम्बन्धित मन्त्रीले समेत गल्ती महसुस गरेको उहाँले बताउनुभयो । छुवाछुतलाई अन्य गर्ने राज्यले घोषणा गरिसकेको र यसका लागि आवश्यक ऐन, नियमावलीसमेत बनेर कार्यान्वयनमा लैजाने चरणमा रहेको उनको भनाई छ । जातका कारण डेरा नदिएको आरोपमा बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रुपा सुनारको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो । तर, सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा चलाउन अस्वीकार गरेपछि प्रधानलाई असार ९ गते थुनामुक्त भएकी थिइन् ।

प्रधानलाई थुनामुक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । त्यसपछि मन्त्री श्रेष्ठले प्रधानलाई बा १ झ ८७६३ नम्बरको आफ्नै गाडीमा चढाएर प्रधानलाई बबरमहलस्थित उनकै घरमा लगेर छाडेका थिए । जातीय छुवाछुतको आरोपमा पक्राउ परेका व्यक्तिलाई छुटाउन सरकारी गाडीमै पुगेपछि मन्त्री श्रेष्ठको चर्को आलोचना भइरहेको छ ।