कोरोना विशेष

अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई मास्क नलगाएको भन्दै प्रहरीले गर्यो जरिवाना


काठमाडौँ – अस्ट्रेलियाका नवनियुक्त उपप्रधानमन्त्री बर्नाबी जोसेलाई लकडाउनको समयमा मास्क नलगाएको भन्दै प्रहरीले जरिवाना गरेको छ । सत्ताधारी गठबन्धनको एक घटक नेशनल पार्टीका मुख्यनेता जोसेलाई स्थानीय प्रहरीले न्यु साउथ वेल्स राज्यको उत्तर पश्चिमी आर्मिडेलको पेट्रोल पम्पमा पेट्रोल भरेपछि सर्भिस सेन्टरभित्र मास्क नलगाई बसेको भेटिएका थिए ।

“मास्कविना भेटिएका ती भद्र महाशयले प्रहरीलाई क्षमायाचनासहित विनम्रतापूर्वक सहयोग गरें, उनलाई दुई सय डलरको जरिवाना तोकियो,” स्थानीय प्रहरीले भनेको छ । उपप्रधानमन्त्री जोसेले आफू विमानस्थल जान ढिला भएकोले श्रीमतीका लागि गाडीमा तेल हाल्न ओर्लेको र सर्भिस सेन्टरभित्र छिरेको ३० सेकेन्डमा आफू प्रहरी कार्बाहीमा परेको स्वीकार गरेका छन् ।

अस्ट्रेलियामा कोरोना भाइरसको जोखिम बढ्न थालेपछि न्यु साउथ वेल्स, क्विन्स्ल्याण्ड, पश्चिम अस्ट्रेलिया र नथर्न टेरिटोरीमा प्रतिबन्ध लगाइएको छ । अस्ट्रेलियामा सबै सार्वजनिक स्थानहरु तथा यातायातमा मास्क अनिवार्य गरिएको छ । सिङ्गो सिड्नी शहर र वरपरको बस्तीका करीब ५० लाख अस्ट्रेलियालीलाई अहिले सरकारले ‘घरै बस्ने’ आदेश जारी गरेको छ ।